‘आर्थिक मन्दी’ ले नछोएको एउटा जुत्ता उद्योग, वार्षिक ५० करोड बढीको कारोबार

‘आर्थिक मन्दी’ ले नछोएको एउटा जुत्ता उद्योग, वार्षिक ५० करोड बढीको कारोबार

बुटवल : बुटवलका व्यवसायी सकुरदिन मियाले दुई दशक बढी भाँडाको व्यापार गरे। तानसेन नगरपालिका–५ बाट २०४८ सालमा बसाइँसराई आएका सकुरदिनले बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए।

उमेरले ५६ वर्ष लागेका सकुरदिनले भाडा व्यापारबाटै ३ छोराहरूलाई शिक्षाको उज्यालो बाटोमा डोराए। छोराहरू जलिल मिया अहिले बाबुले गरेकै व्यवसाय पछ्याउँदै भाडा पसल गर्छन्।

माइलो छोरा डा. खलिल मिया लुम्बिनी प्रादेशिक अस्पतालमा छन्। कान्छो छोरा २८ वर्षीय फरदिन खान (मिया) जिल्लाकै ठूलो जुत्ता उद्योग मध्येको एक ‘एभरेष्ट कम्फर्ट फुट वेयर प्रालि’ का सञ्चालक हुन्।

गाउँमा रहँदा पनि सकुरदिन मेलामा चुरापोते बिक्री गर्थे। गाउँमै पढे हुर्केका सकुरदिनसँग व्यापार गर्ने जाँगर गाउँमै रहँदा थियो।

कान्छा छोरा फरदिन पनि आमा बुवाको पछि पछि व्यापार गर्ने ठाउँमा पुग्थे। त्यसैले सानो उमेरदेखि फरदिनको पनि व्यापारमै लगाव भयो। 

बुटवलमा पढे लेखेर हुर्केका फरदिनले अरू धेरैको जस्तो क्यानडा, जापान, अष्ट्रेलीया, अमेरिका, बेलायत जाने योजना बनाएनन्। उनले नेपालमै बुवाले देखाएको व्यापारको बाटो रोजे।

प्लस टू सकेपछि नै व्यवसायमा लाग्ने सोच बनाएका उनलाई बुवा सकुरदिनले जुत्ता उद्योग सञ्चालन गर्ने सुझाव दिएपछि यो व्यवसायमा होमिएका थिए। 

हाल उमेरले भर्खर २८ वर्ष भएका फरदिन ४० करोडको लगानी पुगेको एभरेष्ट कम्फर्ट फुट वेयरका सञ्चालक हुन्। यो उद्योगमा मुवारक हुसेनको पनि सेयर छ।

बुवाले चलाएको भाडा पसल जेठा दाजुले चलाएपछि फरदिन अहिले बुवासँगै जुत्ता उद्योगमा व्यस्त छन्। उद्योगको सञ्चालन, व्यवस्थापन, मार्केटिङ सबै फरदिनले हेर्छन्।

‘मैले देखाएको बाटोमा सबै छोराहरू छन्। फरदिनले नै अहिले यो उद्योग हेर्छ। म व्याक सपोर्ट गर्ने गरेको छु,’ सकुरदिनले भने।

२०७५ सालमा २ करोडको लगानीमा स्थापना गरेको यस उद्योग अहिले जिल्लाकै जुत्ता उद्योग मध्येको सबैभन्दा ठूलो उद्योग हो। 

देशमा आर्थिक मन्दी भए पनि यो उद्योग अहिले पनि लयमा छ। देशका ७० जिल्लाभन्दा बढीमा उद्योगका तयारी जुत्ता चप्पल पुग्ने गरेका छन्। 

‘उद्योग सञ्चालन हुनासाथ कोभिड सुरु भयो। त्यो बेला व्यापार नै गर्न सकिएन। अहिले व्यापार ठीक छ। मार्केट राम्रो छ। हामीले नेपालका ठूला भनिएका उद्योगसँग सजिलै प्रतिस्पर्धा गर्ने सामर्थ्य राखेका छौ,’ फरदिनले भने।

उद्योगले हवाई, ईभा र स्पोर्ट्सका जुत्ता उत्पादन र बिक्री गर्ने गरेको छ। पश्चिम धनगढीदेखि इटहरीका बजारसम्म यसका उत्पादन पुगेका छन्।

दैनिक २५ हजार जोर जुत्ता चप्पल उद्योगबाट उत्पादन हुने सञ्चालक फरदिनले बताए। हाल उद्योगबाट सिजन अनुसार ६ देखि ७ सय जनाले रोजगार पाइरहेका छन्।

भारतबाट आउने तयारी जुत्ता चप्पलका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने तर्क फरदिनको छ।

‘यहाँ कच्चा पदार्थ लिएर बनाउँदा लागत केही महँगो पर्छ। भारतबाट सिधा आउने तयारी जुत्ता चप्पल नियन्त्रणमा सरकारले नीति बनाएर कडाइ गर्नुपर्छ,’ उनले भने।

भदौ २९, २०८० शुक्रबार ०८:३७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।