पाकिस्तानलाई अन्तिम बलमा हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

एजेन्सी : एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने भएको छ।
सुपर फोरको आफ्नो अन्तिम खेलमा अन्तिम बलमा लक्ष्य पुरा गर्दै पाकिस्तानलाई दुई विकेटले हराएर श्रीलंकाले फाइनलमा स्थान पक्का गरेको हो।
गएराति भएको खेलमा जितका लागि पाएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले घरेलु मैदानमा निर्धारित ४२ ओभरको अन्तिम बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाको जितमा कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए भने चरिथ असलंकाले अविजित ४९ रन जोडे। श्रीलंकाले अन्तिम बलमा जितको लागि दुई रन आवश्यक छँदा लक्ष्य पुरा गरेको थियो।
त्यसअघि खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो।
जसका लागि मोहम्मद रिजवानले ७३ बलमा सर्वाधिक ८६ रन बनाएका थिए। अब साविक विजेता श्रीलंकाले उपाधि रक्षा गर्न आइतबार हुने फाइनलमा भारतसँग भिडन्त गर्नेछ।
भदौ २९, २०८० शुक्रबार ०७:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।