मिरुना र दयाहाङसँग फिल्म खेल्न पाउँदा मक्ख साम्राज्ञी
काठमाडौँ : फिल्मको प्रचारमा नदेखिएपछि फिल्म ‘नाङ्गो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको भूमिका अतिथिको भएर होला भन्ने अड्कलबाजीकाविच बुधवार एकाएक उनी फिल्मको प्रिमियरमा देखिइन्।
उनीबारे अनेक गसिप बुन्नेहरूसँगै बसेर उनले फिल्म पनि हेरिन्। जब फिल्म सकियो शाहको रोल यसो देखिने मात्रै हैन महत्त्वपूर्ण नै थियो। अब अर्को शङ्का बढायो' यति राम्रो भूमिका पाउँदा पनि उनी यति लामो समय किन फिल्मको प्रमोसनमा नहिँडेको होला!
कतै फिल्म निर्माण टिम अनि उनीबिच दह्रै मनमुटाब भएको अड्कलबाजी सुरु भइहाल्यो।
फिल्म प्रचारमा अभिनेता दयाहाङ राई र मिरुना मगर मज्जाले खटिएका थिए। उनीहरू खटिदा शाह नदेखिँदा शङ्का हुनु पनि स्वाभाविकै थियो। त्यसमा बुधवार पनि उनी फिल्मको प्रिमियर सुरु भइसकेपछि मात्र हलमा आइपुगेकी थिइन्।
फिल्म सुरु भएको १५ मिनेट पछि एक सहयोगीका साथ हलमा प्रवेश गरेकी उनले फिल्म हेर्दै इन्जोए गरिरहेकी थिइन्।
फिल्मको प्रिमियर सकियो। उनी हल बाहिर भेटिइन्। अनि रङ्ग पत्रकारहरूले 'तपाई किन प्रचारप्रसारमा नदेखिनुभएको?' भनेर सोध्ने भइहाले।
उनी हाँसिन् अनि भनिन् हैन म इन्डिया गएको थिएँ। ‘म व्यक्तिगत काममा भारतमा व्यस्त थिएँ। त्यसैले फिल्मको प्रचारमा आउन पाइन। तर फिल्मको टिमसँग सम्बन्ध बिग्रिएको छैन । म यो टिमसँग काम गर्न पाउँदा एकदम खुसी छु।’
उनले यो फिल्ममा काम गर्दा निकै रमाइलो भएको पनि बताइन्। यो फिल्मको छायाङ्कन गर्दाको समयलाई सम्झँदै उनले भनिन्,‘सुटिङको समयमा निकै रमाइलो लागेको थियो।’
भदौ २८, २०८० बिहीबार २३:२२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।