सञ्चारमन्त्री शर्माका भाइ अञ्जनकुमार विरुद्ध सहकारीको ७८ लाख हिनामिनामा मुद्दा दर्ता

सञ्चारमन्त्री शर्माका भाइ अञ्जनकुमार विरुद्ध सहकारीको ७८ लाख हिनामिनामा मुद्दा दर्ता

दागं : अञ्जन कुमार पौडेल लगायत ३५ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख राम केसीका अनुसार बढवास्थित राजधानी सहकारी संस्थामा आबद्ध बचतकर्ताहरूको जाहेरीको आधारमा अनुसन्धान सकाएर अदालतमा मुद्दा दर्ता भएको हो।

हाल फरार रहेका पौडेल सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका आफ्नै भाइ हुन्।

गढवाका प्रहरी निरीक्षक नबिना वलीका अनुसार केही दिन अघि मात्रै पूर्व सञ्चालक समिति अध्यक्षसहित पदाधिकारी, वर्तमान सहकारीका अध्यक्ष, पदाधिकारी, व्यवस्थापक विरुद्ध परेको जाहेरी अनुसार अदालतमा मुद्दा दर्ता भएको हो।

घोराही १८ निवासी पौडेल सो सहकारी संस्थाका पूर्व सञ्चालक समिति सदस्य तथा सचिव हुन्।

प्रहरीमा ४ सय बचतकर्ताहरूले उनीहरू विरुद्ध सामुहीकरुपमा रकम हिनामिना गरेको दाबी गर्दै जाहेरी दिएका थिए।

प्रहरी निरीक्षक वलीले सहकारीका हालका अध्यक्ष विकास बिसी धरौटीमा छुटेको बताए। अन्यको हकमा भने थुनछेक बहस जारी छ। पौडेललाई प्रहरीले फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ। सहकारी स्थापना भए देखी अहिलेसम्म कुनै पनि कार्यकालको अडिट नगरिएको र हिसाब किताबको बारेमा सहकारी बोर्डमा सम्पर्क गर्दा पनि कुनै विवरण नरहेको प्रहरीको अनुसन्धानकोक्रममा भेटिएको वलीले बताइन्।

सहकारीमा रहेको बचतकर्ताको रकम हिनामिनासँगै जग्गा किनबेचमा विवाद भएपछि केही सञ्चालकले जग्गा फिर्ता गरेको प्रहरीको भनाई छ।

प्रहरी निरीक्षक वलिका अनुसार बचतकर्ताको ५८ लाख रुपैयाँ, शेयरकर्ता, कार्यालय भाडा, बिजुली शुल्क गरेर ७८ लाख हिनामिना गरेको आरोप छ।

भदौ २८, २०८० बिहीबार २३:०३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।