एसियाली खेलकुदको प्रशिक्षणका लागि काठमाडौं झरे मोन्टी देसाइ

एसियाली खेलकुदको प्रशिक्षणका लागि काठमाडौं झरे मोन्टी देसाइ

काठमाडौं : एसियाली खेलकुदको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देसाइ नेपाल आइपुगेका छन्।

बिहीबार दिउँसो मुख्य प्रशिक्षक देसाइ काठमाडौं आइपुगेका हुन्। एसिया कपमा समूह चरणको खेल सकिएपछि देसाइ नेपाल आएका थिएनन्।

एसियाली खेलकुदका लागि नेपालले बुधबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालिसकेको छ।

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्नेछ।

नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ। खेल टी–२० फरम्याटमा हुनेछ।

नेपाल टी–२० को विश्व वरीयतामा १७औं स्थानमा छ। माल्दिभ्स ८०औं स्थानमा छ भने मङ्गोलियाको आईसीसी वरीयता नै तोकिएको छैन।

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ।

टोलीमा विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, विवेक यादव, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिष्ठित जिसी, ललित राजवंशी र अविनाश बोहरा छन्।

नेपालमा केहीदिनको प्रशिक्षणपछि नेपाली टोली चीनतर्फ लाग्नेछ।

भदौ २८, २०८० बिहीबार १९:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।