पृथ्वी शालाई घुँडाको चोट, अधिकांश घरेलु प्रतियोगिता गुमाउने

पृथ्वी शालाई घुँडाको चोट, अधिकांश घरेलु प्रतियोगिता गुमाउने

काठमाडौं : भारतीय क्रिकेटर पृथ्वी शा कम्तीमा पनि तीन महिनासम्म खेलबाट टाढा रहनुपर्ने भएको छ।

घुँडामा लागेको चोटका कारण उनले १ अक्टोबरदेखि सुरु हुने ईरानी ट्रफीको साथै अन्य घरेलु प्रतियोगिता गुमाउनसक्ने देखिएको इएसपीएनक्रिकइन्फोले जनाएको छ।

युरोपमा नर्थेप्टनशायरका लागि खेलेको प्रतियोगितामा उनी चोटिल भएका हुन्। खेलपछि गरिएको परीक्षणमा उनमा गम्भीर चोट देखिएको बताइएको छ। उनी इंग्ल्याण्डमा प्रथम श्रेणी काउन्टी क्रिकेट खेल्दै थिए।

लण्डनमा एक सर्जनको सल्लाहपछि शा अहिले बैंगलुरु फर्फिएका छन्। बैंगलुरुमा उनको चोटको पुनः परीक्षण हुने र त्यसपछि मात्रै मेडिकल टीमको उपचार थाल्ने समाचारमा उल्लेख छ। सबैभन्दा उत्तम विकल्प शल्यक्रिया नै रहेको डाक्टरहरुको टिमले बताएका छन्।

१६ अक्टोबरबाट सुरु हुने सैय्यद मुश्ताक अली ट्रफीमा उनी उपलब्ध नहुने मुम्बई क्रिकेट एशोसियसनका एक अधिकारीले जानकारी दिए। रणजी ट्रफी खेल्ने सम्भावना पनि कम देखिएको र आफूहरू अध्ययनमै रहेको ती अधिकारीको भनाइ छ।

शा एकदम राम्रो फर्ममा रहेको बेला यो चोट लागेको हो। इंग्ल्याण्डको एकदिवसीय टुर्नामेन्टमा उनले शानदार प्रदर्शन गरेका थिए। उनले चार पारीमा ४२९ रन बनाइसकेका थिए। जसमध्ये एक पारीमा उनले १५३ बलको सामना गरेर २४४ रन बनाएका थिए।

शाले यसैवर्ष फेब्रुअरीमा न्यूजिल्याण्डविरुद्ध भारतले खेलेको टी–ट्वेन्टी सिरिजमा थिए। तर त्यसपछि भएको आईपीएलमा उनी खासै फर्ममा देखिएनन्। आईपीएलमा उनले आठ पारी खेल्दा मात्र १०६ रन बनाएका थिए।

भदौ २८, २०८० बिहीबार १६:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।