२५ मेगावाटको जलविद्युत् आयोननाले परीक्षण उत्पादन थाल्दै
कास्की : माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मंसिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।
आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्र बाँकी काम सकेर विद्युत् उत्पादन थालिले आयोजनाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।
पाँच अर्बको लागतमा भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गर्दैछ। आयोजनाको सिभिलतर्फ हेडबक्स र पाइपलाइन जडानको काम पनि पूरा भएको छ भने विद्युत्गृहमा उपकरण जडानको काम भइरहेको छ।
परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ। आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका कार्यकारी अध्यक्ष पोखरेलले बताए।
आयोजनाको सिभिल इन्जिनियरिङतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका काम अन्तिम चरणमा रहेकाे उनले जानकारी दिए।
आयोजनाका अनुसार हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माणस्थलमा आइसकेकाले जडान भइरहेको छ।
प्रसारण लाइनमा रहने १४ टावरमध्येमा तीन वटाबाहेक अन्यको काम सकिसकेको छ। प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ।
‘मंसिरको पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौँ,’ अध्यक्ष पोखरेलले भने, ‘धेरै समय लाग्ने काम अब बाँकी छैन।’
ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ। यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ।
विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो। कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ।
माछापुच्छ्रे–२ को भराभरीमा आयोजनाको हेडबक्स छ। भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन हुनेछ।
विद्युत्गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालेर १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ।
उत्पादित बिजुली विद्युत्गृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत लाहाचोकमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने योजना रहेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए।
कास्की र पर्वतमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि विद्युत् प्राधिकरणले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना हालै निर्माण गरेको हो।
भदौ २८, २०८० बिहीबार १५:३२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।