महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

बैतडी : दार्चुलामा महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।

जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर महाकाली नगरपालिका–१ लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल बेपत्ताा भएको प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए।

बिहिबार बिहान भारत जान्छु हिँडेका भुलले झोलुङ्गे पुलको बीच भागबाट महाकालीमा हाम फालेको उनले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ।

सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धार्चुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो।

एसएसबीले फर्काएपछि भुुलले महाकालीमा हाम फालेका थिए। घट्नाबारे थप अनुसन्धन भैरहेको प्रहरीले जानकारी दिएको छ।

भदौ २८, २०८० बिहीबार १३:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।