हलमा ‘नाङ्गो गाउँ’ हेर्दा हाँसो रोक्न सकिनन् अभिनेत्री मिरुनाले
काठमाडौं : आफ्नै अभिनय रहेको फिल्म ‘नाङ्गो गाँउ’को प्रिमियरमा सहभागी कलाकारमध्ये अभिनेत्री मिरुना मगर कार्यक्रमभर हाँसिरहेकी थिइन्।
नीलो सारीचोलीमा सजिएकी उनीसँगै मञ्चमा दयाहाङ राई अनि साम्राज्ञी आरएल राणा पनि थिए। काठमाडौंको सीतापाइलामा रहेको सिके सिनेमाज् हलमा भएको प्रिमियरमा अन्य कलाकारभन्दा उनी निकै खुसी देखिएकी थिइन्।
पछिल्लो समय राजनीतिक परिवर्तनलाई आधार बनाएर बनाइने फिल्मको संख्या बढिरहेको छ। यसमा नाङ्गो गाउँ पनि थपियो। यो फिल्म घामपानीका निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
अधिकांश फिल्मको कथाको केन्द्र नेता हुने गरेका छन्। देश वा गाउँ बन्न नसक्नुको दोष एकल नेता पात्रले बोक्ने गरेकोमा यो फिल्मले गाउँ नबन्नुमा नेताभन्दा बढी जिम्मेवार जनता रहेको कथा बोकेको छ।
प्रिमियर कार्यक्रममा निर्देशक लामाले अर्ग्यानिक नेपाली कथामा फिल्म बनाएको भन्दै ‘बोयल्ड’ खाना जस्तै फिल्म पनि स्वस्थ्यवर्द्धक रहेको बताएका थिए।
अभिनेत्री मिरुनाले उकेरासँग अनुभव बाँड्दै आफूले अभिनय गरेको फिल्म पर्दामा हेर्दा आफैँलाई हाँस उठ्ने बताइन्।
उनले भनिन्, ‘मलाई जहिल्यै फिल्म हेर्दा आफू स्क्रिनमा आउने बित्तिकै हाँस उठ्छ।’
उनले आफूले हेरेको फिल्ममध्ये यो फिल्म राम्रो बनेको र दर्शकले मनोरञ्जन लिने प्रतिक्रिया दिएकी थिइन्।
‘डबिङमा मैले आफ्नै भूमिका मात्र हेरेको थिएँ। पूरै फिल्म हेरेको थिइनँ,’ उनले भनिन्, ‘पूरै मुभी हेर्दा राम्रो बनेको रैछ। दर्शकले इन्जोय गर्नुहुन्छ जस्तो लागेको छ।’
उनले राजनीतिबारे धेरै सिक्न बाँकी रहेको बताउँदै नाङ्गो गाउँमा अभिनय गर्दा धेरै राजनीतिक कुराहरू जान्ने मौका पाएको बताइन्।
‘राजनीतिमा इन्ट्रेसभन्दा पनि राजनीतिका नबुझेका कुराहरू धेरै छन्। राजनीतिको बारेमा सिक्नु धेरै छ,’ उनले भनिन्, ‘यो फिल्ममा काम गर्दै गर्दा मलाई के लाग्यो भने हामीले देश बनेन भनेर नेतालाई गाली गरिरहेका हुन्छौँ। नेतृत्वकर्ताले यसो गर्यो, उसो गर्यो भन्छौँ। यसमा जनता र नेता दुवै सचेत हुनुपर्छ जस्तो लाग्यो।’
जनताले नेतृत्वकर्ता रोज्दा सहि रोज्यौँ कि रोजेनौँ भन्ने कुरामा सचेत हुन समेत जरुरी रहेको उनले बताइन्। फिल्मले राम्रो र इमानदार मान्छेले राजनीति गर्न सकस हुन्छ भन्ने देखाइएको छ।
फिल्ममा मिरुनासँगै दयाहाङ राई, कर्मा, शिशिर वाङ्देल, बुद्धी तामाङ, साम्राज्ञी, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म शुक्रबार रिलिज हुँदैछ।
भदौ २८, २०८० बिहीबार १३:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।