संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौं : संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ।

नेम्वाङको निजि निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरेको हो।

उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने बताइएको छ। नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ। 

नेम्वाङको हृदयघातका कारण गत सोमबार राति निधन भएको थियो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो।

साथै उनको निधनमा आज अन्त्येष्टिको दिन सरकारले सार्वजनिक शोक विदा दिएको छ। 

नेम्वाङको पार्थिव शरीरलाई मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। दुई दिनसम्म च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो।

एमाले संसदीय दलको उपनेता समेत रहेका उनि इलाम क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचित भएका थिए। 

भदौ २८, २०८० बिहीबार ११:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।