न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको विशाल जित, स्टोक्स एक्लैले हाने १८२ रन

न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको विशाल जित, स्टोक्स एक्लैले हाने १८२ रन

एजेन्सी : बेन स्टोक्सको कीर्तिमानी शतकको मद्दतले इंग्ल्यान्डले एकदिवसीय खेलमा न्युजिल्यान्डलाई १८१ रनको फराकिलो अन्तरले हराएको छ। चार खेलको सिरिजमा यो जितसँगै इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ। 

खेलमा एक्लैले १८२ रन जोड्दै स्टोक्सले इंग्ल्यान्डको लागि एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए।

लन्डनमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ४८.१ ओभरमा अलआउट हुनुअघि ३ सय ६८ रनको विशाल स्कोर खडा गरेको थियो।

जसका लागि बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय ८२ रनको सानदार इनिङ खेले। योसँगै उनले जेसन रोयको नाममा रहेको इंग्ल्यान्डको लागि एकदिवसीय खेलमा सर्वाधिक १ सय ८० रनको कीर्तिमान तोडेका हुन्।

त्यसैगरी ओपनर डेविड मलानले ९६ रनको योगदान दिए। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ५ विकेट लिएका थिए।

यसपछि जितको लागि ३ सय ६९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा १८७ रनमा अल आउट भयो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ७२ रन बनाएका थिए।

भदौ २८, २०८० बिहीबार ०९:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।