एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीले प्रशिक्षण थाल्योे

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीले प्रशिक्षण थाल्योे
फाईल फोटो

काठमाडौं : १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ। 

नेपाली राष्ट्रिय टोलीका सदस्यले बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जानकारी दिएको छ। 

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने छ। 

नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ। खेल टी–२० फम्र्याटमा हुनेछ।

मङ्गोलिया र माल्दिभ्स निकै कमजोर मानिएका छन्। नेपाल टी–२० को विश्व वरीयतामा १७ औँ स्थानमा छ। माल्दिभ्स ८० औँ स्थानमा छ भने मङ्गोलियाको आईसीसी वरीयता नै तोकिएको छैन। 

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ।

यस्तो छ नेपालको घोषित टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल।

भदौ २७, २०८० बुधबार १७:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।