नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो,पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो,पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने

काठमाडौं : संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।

हृदयघातका कारण सोमबार राति निधन भएका नेता नेम्वाङको पार्थिव शरीर श्रदाञ्जलीका लागि मंगलबारदेखि आज दिउँसोसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो। 

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो।  

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। 

नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ। हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने बताइएको छ। सरकारले नेम्वाङको राजकीयसम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ ।

बालुवाटारस्थित निजी निवासमै राति हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

भदौ २७, २०८० बुधबार १४:०८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।