युएईसँग टी-ट्वेन्टी सिरिज खेल्न मोन्टी देसाइले मानेनन् : क्यान अध्यक्ष चन्द
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले मुख्य प्रशिक्षक मोन्टी देसाइले युएईसँगको टी–ट्वेन्टी सिरिज खेल्न अस्वीकार गरेको बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा अध्यक्ष चन्दले २०२४ मा हुने टी–ट्वेन्टी विश्वकपअघि युएईसँग टी–ट्वेन्टी सिरिजका लागि आफूले कुरा गरेको भएपनि मुख्य प्रशिक्षक देसाईले अस्वीकार गरेको खुलासा गरेका हुन्।
‘काठमाडौंमा हुने टी–ट्वेन्टी क्वालिफायरअघि युएईले आउन खोज्या छ तर कोचले चाहिँ युएईसँग नखेलेर कुनै अर्को टिमसँग खेलौं भनिराछन्,’ उनले भने, ‘ए टिमको कुरा भइराछ। श्रीलंका ‘ए’ टिमलाई बोलाउने कि वा श्रीलंका ‘ए’ टिमसँग खेल्ने टोली पठाउने भन्नेबारेमा कुरा भइराछ।’
अध्यक्ष चन्दले काठमाडौंमा टी-ट्वेन्टी विश्पकपको एसिया छनोटअघि नै नेपाली टोलीले राम्रो टोलीसँग खेल्ने स्पष्ट पारे।
२०२७ को एकदिवसीय विश्वकपमा १४ टिम समावेश हुन लागेको बताउँदै अध्यक्ष चन्दले त्यसका लागि एकदिवसीय मान्यता जोगाउने र विश्वकप खेल्नका लागि अहिलेदेखि नै आधारशिला तयार गर्ने गरि लाग्ने प्रतिबद्धता जनाए।
यसका साथै उनले टेस्ट राष्ट्रको मान्यता पाउनका लागि आधारशिला प्रारम्भ गर्नुपर्नेमा पनि जोड दिए। त्यसका लागि पूर्वाधारसँगै घरेलु क्रिकेट संचरना र रेडबल क्रिकेटका गतिविधि गर्न आफूहरू तयार रहेकोसमेत बताए।
सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-ट्वेन्टी विश्वकपको लागि हुने एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौंमा हुनेछ।
भदौ २७, २०८० बुधबार १३:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।