ढाकाकुमारलाई रास्वपाको चुनौती : पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौँ

ढाकाकुमारलाई रास्वपाको चुनौती : पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौँ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको प्रमाण लिएर आउन चुनौती दिएको छ।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकालेर पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।’

विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्नसमेत प्रवक्ता ढकालले अनुरोध गरेका छन्।

यद्यपि पार्टीले मोहनजंग थापामाथि पनि छानविन थालिसकेको विज्ञप्तिमा उल्लेख छ।

स्पेश फोर के टेलिभिजनको अन्तरवार्तामा डा. श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका थिए। तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको उनले त्यहाँ बताएका थिए।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो। सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि ‘कोर टिम’का लागि दुई करोड चाहिने बताउँदै श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो।

भदौ २७, २०८० बुधबार १३:३४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।