विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता
काठमाडौं : विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन्।
प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ।
यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानून बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल सञ्चालकहरुले विरोध गरेका थिए। त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो।
विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ।
हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि प्रस्तावित विधेयकले समेटेको छ।
राहतमा अध्यापन गराइरहेका शिक्षकले आन्तरिक परीक्षा दिन पाउनेछन्। फेल भए सरकारले निश्चित रकम दिएर बिदाइ गर्नेछ।
शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव गरिएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अविभावकहरुबाट मात्रै छनोट गर्न पाउने लगायतका प्रावधान पनि राखिएका छन्।
यसअघि जनप्रतिनिधिको उपस्थितिलाई लिएर प्रश्न उठेको थियो।
भदौ २७, २०८० बुधबार १२:०५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।