सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ असोज १ गते हुने

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ असोज १ गते हुने

काठमाडौं : नाबालिका बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ। 

पीडित किशोरी (गौशाला २६)को बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि मुद्दाको फैसला केन्द्रित सुनुवाइको पेसि अगामी असोज १ गतेलाई तोकिएको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए। 

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात मगाउन आदेश दिएको थियो। 

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ। 

सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो। 

तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए। 

सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख रुपैयाँ समेत दिइसकेका छन्। 

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ।

संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ।

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको छ।

सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले साउन ३२ गतेलाई नै अन्तिम सुनुवाइको मिति भनेको थियो । यद्यपि उक्त मितिमा प्रमाण बुझ्ने आदेश दिइएको थियो।

भदौ २७, २०८० बुधबार ११:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।