राज्यले तीन वटा स्टेडियम बनाए दुई वर्षभित्रै लगानी उठाउँछौँ : पारस खड्का

राज्यले तीन वटा स्टेडियम बनाए दुई वर्षभित्रै लगानी उठाउँछौँ : पारस खड्का

काठमाडौं : बागमती क्रिकेट संघका अध्यक्ष एवं नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले राज्यले तीन वटा स्टेडियम बनाए दुई वर्षमै लगानी उठाउने बताएका छन्।

नेपाल क्रिकेट संघ क्यानको पदाधिकारीमा समेत उठ्न लागेका खड्काले एक टेलिभिजन कार्यक्रममा सरकारले भएका क्रिकेट मैदानलाई सुविधायुक्त बनाएर दिए दुई वर्षमै लगानी उठाउने बताएका हुन्।

‘जिल्ला र प्रदेश बलियो भयो भने मात्र केन्द्र बलियो हुन्छ,’ उनले भने, ‘हामी साँच्चीकै फन्ड जोड्न चाहन्छौं भने नेपाल सरकारले फ्लडलाइट हालेर भएका स्टेडियमलाई राम्रो, अन्तर्राष्ट्रिय र परिपक्व बनाउँछौं भने त्यसपछि जति लगाानी राज्यले गरेको छ, त्यो लगानी हामी एक–दुई वर्षमै उठाएर, त्यो पैसालाई जिल्ला र प्रदेशको क्रिकेट विकासमा लगाउन सक्छौँ।’

अहिलेको प्राथमिकता अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा कसरी आयोजना गर्ने भन्नेबारे हुनुपर्ने उनको भनाइ छ। त्यसो भएको खण्डमा मात्र नेपाल क्रिकेट संघले बजेट पाउनसक्ने खड्काले बताए।

उनले आफू क्रिकेट संघको पदाधिकारीको रुपमा अगाडि आउन लागेको विषयालाई अस्वीकार गरेनन्। उनले वर्तमान क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग मिलेर अघि बढ्न खोजेको संकेतसमेत गरे।

खड्काले सातै प्रदेशमा तत्काल स्टेडियमको सम्भावना नरहे पनि राम्रो विकेट र खेल्न मिल्ने मैदान भने हुनुपर्नेमा जोड दिए।

१७ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बिताएका खड्काले नौ वर्ष नेपाल क्रिकेट टिमको कप्तान भएर टिमको नेतृत्व गरे। उनको नेतृत्वमा नेपाली टोली डिभिजन फाइभ देखि ओडिआई मान्यताप्राप्त राष्ट्रसम्म बन्न सक्यो।

सन् २०१९ मा कप्तानबाट राजीनामा दिएका पारसले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाटै सन्यासको घोषणा गरे। घोषणाकै क्रममा उनले क्रिकेट व्यवस्थापनमा आउन लागेको संकेत गरेका थिए।

भदौ २७, २०८० बुधबार ११:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।