धरानमा ग्याङ फाइट, उपमेयरका भाइसहित आठ जना पक्राउ

धरानमा ग्याङ फाइट, उपमेयरका भाइसहित आठ जना पक्राउ
सांकेतिक तस्बिर ।

विरानगर : कुटपिटको आरोपमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मङ्गलबार उपमहानगरपालिका–१५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुसहित आठ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ। 

विष्णुसहितको ग्याङले सन्देश राईलाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङसहित सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको हो।

विष्णुको समूहले सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको र सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो।

ग्याङ फाइटको अनुसन्धानका लागि विष्णुसहित अन्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भदौ २७, २०८० बुधबार १०:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।