निसानका तीन गाडी नेपाली बजारमा सार्वजनिक, इभीमा एक घण्टामै फुल चार्ज हुने
काठमाडौं : नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ।
कम्पनीले जिरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ ईभी, नाभारा प्रो फोर एक्सको लाइफस्टाइल इडिसन र म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरेको हो।
४० किलोवाट आवरको लिथियम-आयन ब्याट्री भएको निसान लिभ इभीले पूर्ण चार्जमा ३११ किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्नसक्ने यस गाडीमा शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा जान जम्मा ७.९ सेकेन्ड लाग्छ।
चार्ज गर्न सजिलो र सुविधाजनक हुनेगरी निसान लिफमा धेरै चार्जिङ विकल्पहरू प्रदान गरिएको छ। निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल-आउटलेट मार्फत १५ देखि १८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने क्विक-चार्जिङ स्टेसनहरूमा जाने हो भने एक घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीले यसमा ई-पेडल सुविधा उपलब्ध गराएको छ। यसले चालकहरूलाई एक्सेलेटरमा लगाईएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन र रोक्न सहज बनाउँदछ। जब एक्सेलेटर पूर्ण रूपमा रिलिज हुन्छ, रिजेनेरेटिभ ब्रेक र फ्रिक्सन ब्रेकले स्वचालित रूपमा कारलाई रोक्दछ।
यसो हुँदा खुट्टा एक पेडलबाट अर्कोमा सर्ने आवश्यकता कम भई ड्राइभिङ सरल र थप सुविधाजनक हुन्छ। गाडीको यो विशेषता शहर ट्राफिकको लागि निकै उपयुक्त हुने कम्पनीको विश्वास छ।
निसान लिफमा ‘इन्टिलिजेन्ट’ ड्राइभिङ असिस्टेन्स सुविधाहरू पनि भरिएको छ। यसमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर, हाई बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन्।
यसमा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट ड्राइभर अलर्टनेस, रियर क्रस ट्राफिक अलर्ट, ब्लाइन्ड स्पट वार्निङ, लेन डिपार्चर वार्निङ, इन्टेलिजेन्ट लेन इन्भेन्शन र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल जस्ता विशेषताहरू छन् जसले चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्दछ।
निसान लिफमा ‘डुअल-टोन बडी’ र यसको प्रतिष्ठित ‘फ्लोटिङ रुफ’ सहितको आकर्षक डिजाइन छ। ‘इभी ब्लु एक्सेन्ट’ र भी-मोसन ग्रिलले गाडीलाई अझ आकर्षक बनाउँछ। साथै, भित्र इन्टेरियरमा पाँच जनाको लागि पुग्ने फराकिलो सिट रहेको छ।
निसान लिफ ३ वर्षको वा पहिलो १ लाख किलोमिटर(जुन पहिले आउँछ)को वारेन्टी र ब्याट्रीमा ८ वर्षको वा पहिलो एक लाख ६० हजार किलोमिटर (जुन पहिले आउँछ)को वारेन्टी छ।
त्यसैगरी निसान नाभाराको लाइफस्टाइल इडिसनले उत्कृष्ट डाइनामिक पर्फमेन्स, परिष्कृत ह्यान्डलिङ र इन्धन(फ्युल) इफिसियन्सि प्रदान गर्ने कम्पनीको दाबी छ।
साथै यो गाडीमा, राम्रो एनभीएच (नोइज, भाइब्रेसन र हार्सनेस) कन्ट्रोल उपलब्ध भएकाले ड्राइभिङ अनुभव आरामदायी बनाउँदछ। नाभाराको यो विशेष संस्करणमा नयाँ डिजाइन गरिएको फ्रन्ट बम्पर, निसानको ट्रेडमार्क भी मोसन ग्रिल, नयाँ हेडल्याम्प तथा नाभारा ब्रान्डिङको स्पोर्टी क्रोम ट्रिम समावेश छन्।
धेरै टोविङ क्षमता र उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा यो गाडी निकै आकर्षक देखिन्छ। नयाँ थ्रि-स्पोक स्टिरिङ ह्विल, नयाँ टिएफटि मिटर र ७ इन्चको मल्टि-इन्फरमेसन डिस्प्लेको साथमा इन्टेरियरमा स्पोर्टी अनुभव प्रदान गर्दछ।
भदौ २७, २०८० बुधबार १०:००:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।