टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा, यस्ता छन् विशेषता र मूल्य
काठमाडौं : टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रिमियम इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेको छ। मंगलबार नाडा अटो शोमा कम्पनीले स्कुटर सार्वजनिक गरेको हो।
पाँच आकर्षक कलर भेरियन्टमा उपलब्ध स्कुटरमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन्। ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुक रहेको स्कुटरमा यु.एस.बि चार्जिङ पोर्टसमेत उपलब्ध छ।
शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ।
स्कुटरमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन्। यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।
साढे चार घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको स्कुटर ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ। साथै कुनै पनि ५ एम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न सकिन्छ।
पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प स्कुटरले प्रदान गर्छ। पछाडि हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायी हुने कम्पनीले जनाएको छ।
स्कुटरमा टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन्। कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ।
एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ। प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरूले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ। यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ।
प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो एक हजार ग्राहकका लागि ४ ला २९ हजार ९०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
भदौ २७, २०८० बुधबार ०९:३०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।