आइफोन १५ का चार मोबाइल सार्वजनिक, यति पर्छ मूल्य

आइफोन १५ का चार मोबाइल सार्वजनिक, यति पर्छ मूल्य

काठमाडौं : एप्पलले आईफोन १५ सिरिजका मोबाइलहरू सार्वजनिक गरेको छ।

मंगलबार राति एक एप्पल इभेन्टमार्फ कम्पनीले आइफोन १५ सिरिजका चार वटा मोडलहरू सार्वजनिक गरेको छ।

कम्पनीले आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार वटा भेरियन्ट सार्वजनिक गरेको छ।

जसमा आइफोन १५ को मूल्य ७९९ अमेरिकी डलर, आइफोन १५ प्लसको मूल्य ८९९ डलर, आइफोन १५ प्रोको मूल्य ९९९ डलर र आइफोन १५ प्रो म्याक्सको मूल्य ११९९ डलर तोकेको छ।

यी सबै १२८ जीबी स्टोरज भएका मोबाइलहरूको मूल्य हो। यी सबै फोनहरू सेप्टेम्बर १५ देखि प्रि-अर्डर गर्न सकिन्छ भने सेप्टेम्बर २२ देखि एप्पल स्टोरहरूमा उपलब्ध हुनेछन्।

यसपटक देखि आइफोनले आफ्ना सबै फोन र वाचहरूमा टाइप सी चार्जिङ पोर्ट समावेश गरेको छ।

यस्तै एप्पलले मंगलबार राति नै एप्पल वाच एसई, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ समेत सार्वजनिक गर्यो।

जसमा एप्पल वाच एसई अन्तर्गत पनि जीपीएस मात्र भएकोको मूल्य २४९ डलर तोकिएको भने जीपीएस र सेलुलर भएको वाचको मूल्य २९९ डलर तोकिएको छ।

त्यसैगरी एप्पल वाच सिरिज ९ अन्तर्गत पनि जीपीएसमात्र भएकोलाई ३९९ डलर र सेलुलर पनि भएकोलाई ४९९ डलर भनिएको छ।

यस्तै जीपीएस र सेलुलर दुवै समावेश भएको एप्पल वाच अल्ट्रा २ को मूल्य भने ७९९ डलर तोकिएको छ।

भदौ २७, २०८० बुधबार ०८:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।