६१ किलो सुनको अनुसन्धान प्रतिवेदन तयार, सीआईबीले आज सरकारी वकिललाई बुझाउने

६१ किलो सुनको अनुसन्धान प्रतिवेदन तयार, सीआईबीले आज सरकारी वकिललाई बुझाउने

काठमाडौं : लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ। 

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य मंगलबार साँझ सकिएकाले बुधबार बुझाउने तय भएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ। संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ।

यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी प्रतिवेदन बुझाउने मिति तय गरिएको हो।

सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन्।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। यो प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो। बरामद हुँदा ब्रेक शुसहितको सुन १५५ किलो भए पनि गाल्दा ६० किलो ७१६ ग्राम कायम भएको थियो। 

भदौ २७, २०८० बुधबार ०७:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।