नेम्वाङको पार्थिव शरीर सात दिनसम्म नबिग्रिने गरि रसायन राखियो, बिहीबार अन्त्येष्टि गरिने

नेम्वाङको पार्थिव शरीर सात दिनसम्म नबिग्रिने गरि रसायन राखियो, बिहीबार अन्त्येष्टि गरिने

काठमाडौं : संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा नबिग्रने रसायन राखिएको छ।

बिहीबार अन्येष्टि गरिने भएसँगै एक सातासम्म नबिग्रनेगरी पाँच किलो रसायन प्रयोग गरिएको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

‘पाँच केजीको केमिकल उहाँ(नेम्वाङ)को बडीमा स्प्रे गरियो,’ श्रेष्ठले भने, ‘अब एक हप्तासम्म बडी सोइलिङ पनि हुँदैन, स्मेल पनि आउँदैन, बडी पनि बिग्रँदैन।’

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय पुर्याएको थियो।

मंगलबार दिनभर नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयम राखियो भने राति पनि त्यहिँ राखिने श्रेष्ठ बताए।

‘आज दिनभरी १२ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा (पार्थिव शरीर)रह्यो,’ श्रेष्ठले भने, ‘आज रातभरी केन्द्रीय कार्यालयमा नै रहन्छ।’

बुधबार दिउँसो साढे एक बजे नेम्वाङको पार्थिव शरीर उनको निवास बालुवाटारमा लगिने छ। अष्ट्रेलिया र बेलायतबाट दुवै छोरा आएपछि बिहीबार अन्तिम संस्कार गरिने उनको भनाइ छ।

नेम्वाङका जेठो छोरा पढ्न बेलायत गाएको र कान्छो छोरा अष्ट्रेलिया गएका छन्। जसमध्ये जेठो छोरा बुधबार फर्कने र कान्छो छोरा कनेक्टिङ फ्लाइटको समस्याले बिहीबार मात्र आउने भएपछि त्यहि दिन अन्येष्टि गर्न लागिएको हो।

‘पर्सी ठिक साढे ११ बजे आर्यघाटमा अन्तिम संस्कारका लागि राजकीय सम्मानसहितको शव यात्रा गरेर आर्यघाट पुर्याउँछौं’, उनले भने।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने र अन्त्येष्टि गर्ने दिन शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सरकारले उनको पार्थिव शरीरको अन्येष्टिको दिन नेपालका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ।

अस्पताल पुर्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएन
त्रिवि शिक्षण अस्पतालमा पुर्याउँदा नेम्वाङको मुटुको चाल नै नभएको अस्पतालले जनाएको छ। 

उनलाई सोमबार राति साढे एक बजे उपचारका लागि अस्पताल पुर्याइएको र चिकित्सकको टोलीले उनको चेक जाँच गर्दा जीवनसम्बन्धी कुनै पनि चाल नदेखिएको अवस्थामा रहेको अस्पतालले जनाएको थियो।

‘त्यसबखत उहाँ(नेम्वाङ)को आँखाको नानी फुलिसकेको र स्थिर रहेको साथै वीपी र पल्स अनरेकर्डेबल भएकाले चिकित्सकद्धारा ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवन सम्बन्धी कुनै संकेतहरू नदेखिएकाले तीन बजे मृत घोषणा गरेको जानकारी गराइन्छ।’

नेम्वाङलाई सोमबार राति एक्कासी १०२ डिग्री ज्वरो आएको थियो। बेलुका शौचालय जाने क्रममा असहज भएपछि उनी त्यहिँ ढलेका थिए। उनी ढलेलगत्तै श्रीमतीले उनलाई उठाएर अस्पताल लगिएको थियो। परिवारले थाहा पाएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्याउँदा मृत्यु भइसकेको बताइएको छ।

नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानमन्त्री, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, सुरक्षा निकायका पदाधिकारी तथा शुभेच्छुकहरू च्यासल पुगेका थिए।

बेलुकीसम्मै नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुग्नेको भीड कम थिएन।

सम्बन्धित समाचारः

२६ भदौ, २०८०, २०:३२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।