एसिया कप : श्रीलंकाली स्पिनरसामू निरीह भारतीय ब्याटर, वर्षाका कारण रोकियो खेल
काठमाडौं : एसिया कपअन्तर्गत सुपर फोरको भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकिएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४७औं ओभरको समाप्तीमा ९ विकेट गुमाएर १९७ रन बनाएसँगै वर्षा भएपछि खेल रोकिएको हो।
भारका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। केएल राहुल ३९, इसान किसान ३३, शुभमन गिल १९ र अक्षर पटेलले अविजित १५ रन बनाउँदा बाँकी छ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकाका दुनिथ वेल्लालगेले पाँच विकेट लिँदा चरिथ असलङकाले चार विकेट हात पारे।
सोमबार पाकिस्तानसामू बलियो देखिएको भारत श्रीलंकाका स्पिनरसामू निरीह देखिएको छ। पाकिस्तानसामू सोमबार भारतले ३५७ रनको लक्ष्य दिँदै २२८ रनले जितेको थियो।
वर्षापछि पिच र आउटफिल्ड कभरले छोपिएको छ। श्रीलंकामा पछिल्लो समय दैनिकजसो पानी परिरहेको छ। जसका कारण एसिया कपका खेलहरू अवरुद्ध भइरहेका छन्।
भदौ २६, २०८० मंगलबार १८:४८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।