नाम परिवर्तनपछि फिल्म ‘एक भगवत् र एक गीता’ सेन्सर बोर्डबाट जस्ताको त्यस्तै पास
काठमाडौं : नाममा केही परिवर्तन गरेपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ सेन्सर बोर्डबाट जस्ताको त्यस्तै पास भएको छ।
फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा केही धार्मिक संस्थाहरूले फिल्मको पहिलेको नाम ‘एक भगवत गीता’ मा चर्को विरोध जनाएका थिए।
हिन्दु धर्मलाई मास्ने काम गरेको भन्दै फिल्मको सेन्सर सिफारिसमा समेत रोक लगाएपछि फिल्मको नाम परिवर्तन गरिएको थियो। चर्को विरोध र सूचना तथा सञ्चार मन्त्रालयको दवाबमा परेको चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिन मानेको थिएन।
यसपछि आइतबार फिल्मको निर्माण टिम र १३ धार्मिक संस्थाका प्रतिनिधिबीचको छलफलपछि नाम फेर्ने सर्तमा फिल्म प्रदर्शनको अनुमति दिने सल्लाह भएको थियो।
धार्मिक संस्थासँगको पाँच दिन लामो रस्साकस्सीमा फिल्मको नाम फेर्दै ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ नामाकरण गरिएको थियो।
यसपछि भने फिल्मलाई चलचित्र विकास बोर्डले आइतबारै सेन्सरका लागि सिफारिस दिएको थियो भने मंगलबार केन्द्रीय चलचित्र जाँच समितिले कुनै दृश्य नहटाइ फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ।
सेन्सर बोर्डका पदाधिकारीले मंगलबार फिल्म हेरेर कुनै विवादित दृश्य नदेखेपछि सबैले हेर्न मिल्ने प्रमाण पत्र दिएको हो।
निर्माता सुनील कुमार थापाका अनुसार बोर्डले फिल्मको लम्बाइ दुई घण्टा १९ मिनेट तय गरेको छ भने फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची लगाएको छैन।
फिल्म सेन्सर पास भएपछि निर्माता थापाले भने, ‘हामीले पहिल्यैदेखि भनेका थियौं कि धार्मिक कुरामा आँच आउने कुरा गरेका छैनौं।’
झरना थापाले निर्देशन गरेको यस फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ। विपिन यस फिल्ममा कमलामाईको अवतारमा देखिन लागेका छन्।
भदौ २६, २०८० मंगलबार १३:५४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।