धेरै आलोचना भएपछि प्रकाश सपुतले हटाए ‘जाले रुमाल फाट्यो’को भद्दा संवाद

धेरै आलोचना भएपछि प्रकाश सपुतले हटाए ‘जाले रुमाल फाट्यो’को भद्दा संवाद

काठमाडौं : धेरै आलोचना भएपछि गायक प्रकाश सपुतले तीज गीत ‘जाले रुमाल फाट्यो’ मा राखिएको भद्दा संवाद हटाएका छन्।

गायक तथा सर्जक प्रकाश सपुतले हालै सार्वजनिक गरेको यस गीतको भिडियोमा अन्त्यमा राखिएको एक संवाद विवादित बन्दै आएको थियो।

प्रकाशले सार्वजनिक गरेको गीतको भिडियोमा सुरुवात, बीच र अन्त्यमा कलाकारहरूको संवादको दृश्य पनि राखेका थिए।

भिडियोको अन्त्यमा प्रहरीको भूमिकामा रहेकी स्वस्तिमा खड्कालाई महिनावारी भएको रगत देखिएपछि आफैंले अभिनय गरेका प्रकासले प्याड दिएपछिको भद्दा संवाद आलोचित बनेको थियो। 

यसै संवादमा सामाजिक सञ्जालमार्फत सपुतको धेरै आलोचना भएपछि उनले उक्त दृश्य हटाएका हुन्। उनले यो दृश्य गीत सार्वजनिक भएको झण्डै ३ दिनपछि हटाएका छन्।

समीक्षा अधिकारीको गायन रहेको गीतमा स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी, विशाल पहारी र प्रकाश सपुतको अभिनय छ। 

अहिले यो गीत युट्युबको ट्रेण्डिङ १ मा रहेको छ भने २८ लाख भ्युज पुगिसकेको छ।

प्रकाश सपुतको गीत विवादित बनेको यो पहिलो पटक होइन। यसअघिको ‘बोल माया’ गीतमा उनलाई लय चोरेको आरोप लागेको थियो। गायक शम्भु राईलाई आफ्नो पुरानो गीतको भाकासँग मिलेको भन्दै आलोचना गरेका थिए।

एक महिनाअघि उनैको अर्को गीत ‘दमाई राजा’पनि विवादित बनेको थियो।

भदौ २६, २०८० मंगलबार १३:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।