पाल्पा–गुल्मी सडकखण्डमा ‘जोर्ते’को त्रास, चर्चित बन्दै वैकल्पिक अर्गेली-रानीमहल-तानसेन सडक

पाल्पा–गुल्मी सडकखण्डमा ‘जोर्ते’को त्रास, चर्चित बन्दै वैकल्पिक अर्गेली-रानीमहल-तानसेन सडक

बुटवल : पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत जोर्ते क्षेत्र सबैभन्दा दुर्घटनाग्रस्त क्षेत्र हो। बर्सेनि जोर्तेमा हुने दुर्घटनाबाट धेरैले अकालमा ज्यान गुमाउने गरेका छन्।

भदौ दोस्रो साता दुई दिनको फरकमा जोर्तेमा २ स्करपिओ सुक्खा पहिरोले पुर्यो। ३ जनाको ज्यान नै गयो। ६ जनाभन्दा बढी घाइते भए। 

केही समय अघिसम्म सुनसान जस्तै हुने कालीगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण लोकमार्गको ‘अर्गली–रानीमहल–तानसेन’ सडक जोर्तेमा जाने पहिरोले त्रास बढाउँदा अहिले निकै व्यस्त बन्न थालेको छ।

तानसेन नगरपालिका–१४ को कुडापानी (जिरो प्वाईन्ट) अर्गली चोकबाट रानीमहल हुँदै सदरमुकाम तानसेन पुग्न सकिने सहज सडक अहिले धेरैले जोर्तेको ‘वैकल्पिक’ सडकको रुपमा प्रयोग गर्न थालेका छन्।

‘धेरैलाई यो बाटो थियो भन्ने समेत थाहा थिएन। जव जोर्तेमा दुई दिनको फरकमा गाडी पहिरोले च्याप्यो, त्यसपछि भने यो सडकको प्रयोग अत्यधिक हुन थाल्यो,’ पाल्पा छेर्लुङगका स्थानीय राजु रानाले बताए।

रानाका अनुसार सडकमा आवाज जावत बढेपछि अर्गेली, छेर्लुङग, बौघागुम्हा क्षेत्रका स्थानीय हर्षित भएका छन्।

कालीगण्डकी करिडोर अन्तर्गत बनेको यो सडक अर्गली–रानीमहल हुँदै तानसेन पुग्न सकिन्छ। कतिपय भने तानसेन नगइ सिधै प्रवास पनि झर्ने गर्दछन्। पहाड छिचोल्दै बनाइएको यो सडक फराकिलो र सफा छ। यसैका कारण पनि सवारी चालकहरूको प्राथमिकतामा ‘अर्गली–रानीमहल–तानसेन’ पर्ने गरेको छ। 

‘अर्गली–जोर्ते–तानसेन’ सडक खण्ड भन्दा यो ‘अर्गली–रानीमहल–तानसेन’ सडक खण्डको दुरी १ किलोमिटर कम छ। ‘अर्गली–जोर्ते–तानसेन’ २७ किलोमिटर छ भने ‘अर्गली–रानीमहल–तानसेन’ २६ किलोमिटर छ।

यो सडकमा व्यस्तता बढेसँगै रानीमहल पुग्नेहरू पनि अहिले दिनहुँ बढी रहेका छन्। यो करिडोर सडक रानीमहलमाथि हुँदै जान्छ। यो सडक प्रयोग गर्ने साना सवारी चालकहरू केही समय मन भुलाउन र शान्त रहन रानीमहल पुग्ने गरेका छन्।

तानसेन नगरपालिका–१४ अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले करिडोरको सडक व्यस्त हुन थालेपछि रानीमहलमा जानेहरूको संख्या बढिरहेको बताए। त्यति मात्र नभइ अहिले करिडोर आसपासमा स–साना पसलहरू समेत खुल्न थालेको उनको भनाइ छ।

‘बाटो नबन्दासम्म दुर्गम रहेको ठाउँ अहिले सुगम भएको छ। यसले यात्रामा सहजता मात्र ल्याएको छैन। अब त्यस क्षेत्रमा व्यावसायिकता समेत फस्टाउने प्रबल सम्भावना छ,’ उनले भने। 

करिडोर अन्तर्गत रानीमहल–राम्दी पनि स्तरोन्नति हुने क्रममा छ। सो सडक खण्ड टेण्डर भइसकेको वडा अध्यक्ष भट्टराईले बताए।

‘रानीमहल–राम्दीको ट्रयाक खोलेपछि रामपुर हुँदै गैडाकोट निस्कन सकिन्छ। त्यसपछि काठमाडौं जानेहरूका लागि कोरिडोरले झन सहजता ल्याउनेछ,’ उनले भने।

कालीगण्डकी करिडोर गैंडाकोट–राम्दी–माल्ढुंगा सडक योजनाका प्रमुख शंकर पौडेलले अर्गली–रानीमहल डबल लेनको १४ किलोमिटर सडक ४० करोड रूपैयाँको लागतमा निर्माण भएको बताए।

‘अझै निर्माण पुरा भएको छैन। केही स्थानमा सडक भासिएको छ। नालीको काम पनि कतिपय ठाउँमा बाँकी छ। २ देखि ४ महिनामा सडक पूर्ण रुपमा बन्छ,’ उनले भने।

जोर्ते सडक खण्डमा स्तरोन्नतिको काम हुँदा डिभिजन सडक कार्यालय पाल्पाले वैकल्पिक सडक प्रयोग गर्न भने पनि ‘अर्गेली–रानीमहल–तानसेन’ सडक प्रयोगमा आउने थिएन। धेरैले जोर्ते–लुङ–बतासे सडक प्रयोग गर्थे।

जोर्तेको विकल्पमा प्रयोग गर्ने यो सडक साँघुरो छ। कतिपय ठाउँमा घुम्ती काट्न समेत ठूला सवारीलाई मुस्किल पर्छ। ठाडो उकालो भएकाले पनि यो सडक प्रयोग गर्न त्यति सहज छैन।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाले ‘अर्गेली–रानीमहल–तानसेन’ सडकमा जोखिम कम भएका कारण अहिले धेरैले यसैलाई प्रयोग गर्न थालेको बताए। 

भदौ २६, २०८० मंगलबार १२:३८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।