नेपालमा किन बालकभन्दा बालिकाले बढी गर्छन् आत्महत्या?

नेपालमा किन बालकभन्दा बालिकाले बढी गर्छन् आत्महत्या?

काठमाडौं : नेपालमा महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँदै आएको छ। तर, बालबालिकाको सवालमा भने वयस्कको तुलनामा आत्महत्याको तथ्यांक ठीक उल्टो देखिएको छ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकमा बालकको तुलनामा बालिकाहरूले बढी आत्महत्या गरेको देखिएको छ। नेपालमा बालकको तुलनामा बालिकाले किन बढी आत्महत्या गर्छन्? यो खोज तथा अध्ययनको विषय भएको मनोचिकित्सकहरूले बताएका छन्। 

यस्तो छ तथ्यांक

आर्थिक वर्ष २०७७/०७८ मा सात हजार एक सय ४१ जनाले आत्महत्या गरेका थिए। जसमध्ये तीन हजार नौ सय २८ जना पुरुषले आत्महत्या गरेका थिए भने दुई हजार चार सय ४९ जना महिलाले आत्महत्या गरेका थिए।  

त्यसैगरी दुई सय ९४ जना बालक र चार सय ७० बालिका गरी ७ सय ६४ जना बालबालिकाले आत्महत्या गरेका थिए। यो तथ्यांकमा बालकको तुलनामा करिब दोब्बर बालिकाले आत्महत्या गरेको देखिन्छ। 

आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार आठ सय ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। यो आर्थिक वर्षमा तीन हजार आठ सय ६० पुरुषले आत्महत्या गरेका थिए भने दुई हजार दुई सय ६१ जना महिलाले आत्महत्या गरेका थिए। 

त्यसैगरी दुई सय ५३ बालक र चार सय ५६ जना बालिका गरी सात सय नौ जना बालबालिकाले आत्महत्या गरेका थिए। यो आर्थिक वर्षमा पनि बालकको तुलनामा आत्महत्या गर्ने बालिकाको संख्या झन्डै दोब्बर छ।

आर्थिक वर्ष २०७९/०८० मा ६ हजार नौ सय ९३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। जसमध्ये यो आर्थिक वर्षमा आत्महत्या गर्ने पुरुषको संख्या तीन हजार नौ सय ४२ थियो भने दुई हजार दुई सय ५६ जना महिलाले आत्महत्या गरेका थिए।

यो आर्थिक वर्षमा पनि बालकको तुलनामा दोब्बरभन्दा बढी बालिकाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ। यो आर्थिक वर्षमा दुई सय ६६ जना बालक र पाँच सय २९ जना बालिका गरी सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ। 

‘यो अनुसन्धानको विषय हो’ 

कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुणराज कुँवर बालकको तुलनामा बालिकाले किन बढी आत्महत्या गर्छन् भन्ने खोज तथा अध्ययन, अनुसन्धानकै विषय भएको बताउँछन्। ‘किन यस्तो भयो भन्ने बुझ्नैपर्छ, यसको खासै अध्ययन भएको छैन,’ उनले भने।

विशेषगरी बालबालिकाको सवालमा १३ देखि १८/२० वर्षसम्ममा शारीरिक तथा मानसिक परिवर्तन समेत हुने भएकाले यो उमेर समूहमा तनावको स्थिति सृजना हुनसक्ने डा. कुँवर बताउँछन्।

त्रिभुवन शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक डा. सरोज वझा पनि बालबालिकाको आत्महत्याको वैज्ञानिक कारण खोज्न जरुरी रहेको बताउँछन्। ‘नेपालमा किन यस्तो भइरहेको छ भनेर अध्ययन गर्नु जरुरी छ,’ उनले भने।

मनोविद् गोपाल ढकाल किशोरावस्थामा हुने हर्मोन परिवर्तन, यौन तथा लैंगिक हिंसा, सामाजिक दवाब, घरेलु हिंसा लगायतका कारण किशोरको तुलनामा किशोरीमा बढी मानसिक तनाव निम्तिन सक्ने बताउँछन्। अध्ययनले समेत किशोरको तुलनामा किशोरीमा बढी तनाव देखिएको उनी बताउँछन्।

किशोरीमा तुलनात्मक रुपमा बढी मानसिक तनाव निम्तिने जोखिम भएकाले हात्महत्या पनि बालकको तुलनामा बालिकाको बढी भएको हुनसक्ने ढकालको तर्क छ। तर, उनि पनि यो थप अध्ययन कै विषय भएको बताउँछन्। 

चिकित्सकको मत अनुसार वयस्कको सवालमा महिलाले बढी आत्महत्या प्रयास गर्छन्। तर, आत्महत्या भने महिलाको तुलनामा पुरुषकै बढी हुने गरेको छ।

धेरैजसो पुरुषहरूले आत्महत्याका लागि झुन्डिने, विष सेवन र हाम फाल्ने जस्ता विधि अपनाउने भएकाले महिलाको तुलनामा पुरुषको आत्महत्या बढी हुने गरेको डा. वझा बताउँछन्।

तर, महिलाले भने बढी मात्रामा औषधी सेवन गर्ने (औषधिको ओभर डोज), हात लगायतका अंग काट्ने जस्ता हतियारको प्रयोग गरी आत्महत्याको विधि प्रयोग गर्ने हुँदा महिलाको तुलनामा पुरुषकै आत्महत्या बढी हुने गरेको उनले बताए। 

‘आत्महत्या एटेम्ट महिलाको बढी देखिन्छ, तर, कम्प्लिट आत्महत्या चाहिं पुरुषमा बढी छ,’ डा. वझाले भने, ‘पुरुषले आत्महत्याको कडा किसिमको विधि प्रयोग गर्छ।’

तर, बालबालिकाको सवालमा भने बालकको तुलनामा बालिकाले बढी आत्महत्या गर्ने विषय खोज तथा अनुसन्धानकै विषय भएको मनोचिकित्सक तथा मनोविद्को एक मत छ।

सबैभन्दा धेरै झुण्डिएर आत्महत्या 

आत्महत्यामा अपनाइने विभिन्न विधि मध्ये नेपालमा सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। 

आर्थिक वर्ष २०७९/०८० मा आत्महत्या गर्ने मध्ये पाँच हजार नौ सय ५६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने नौ सय ३२ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए। त्यसैगरी ४९ जनाले हाम फालेर आत्महत्या गरेका थिए भने ३५ जनाले (पानीमा) डुबेर आत्महत्या गरेका थिए। 

त्यसैगरी औजार तथा हातहतियार प्रयोग गरेर १५ जना र ६ जनाले आगो लगाएर आत्महत्या गरेका थिए। यो तथ्यांकले झुण्डिएर आत्महत्या गर्नेकै संख्या बढी देखिन्छ।

यो त प्रहरीमा दर्ता भएका आत्महत्या सम्बन्धी मुद्दाको केस मात्रै हो। कतिपय त लफडामा पर्न नचाहने कारणले प्रहरी समक्ष मुद्दा नआइपुग्न पनि सक्ने भएकाले अझै धेरैले आत्महत्या गरेको हुनसक्ने डा. वझाको तर्क छ।

बालबालिकाको आत्महत्या रोक्न के गर्ने?

बालबालिका मात्रै होइन जो कोही व्यक्तिलाई आत्महत्याको सोच आयो भने तुरुन्तै मनोपरामर्श तथा उपचार गर्नुपर्ने डा. कुँवरको सुझाव छ। ‘मान्छेले म बाँच्दिन, मर्छु भन्यो भने त्यो एकदमै सिरियस हो भनेर बुझ्नुपर्छ,’ उनले भने।

त्यसैगरी बालबालिकालाई मानसिक रुपमा स्वस्थ रहने वातावरण बनाउनुपर्ने डा. कुँवरको सुझाव छ। बालबालिकालाई तनाव कम हुने वातावरण बनाउनुपर्छ। विद्यालय लगायतमा बालबालिकालाई मानसिक स्वास्थ्यको विषयमा समेत जनचेतना जगाउनुपर्ने चिकित्सकको सुझाव छ। 

मनोचिकित्सक तथा मनोविद्का अनुसार तनावबाट जोगाउनका लागि किशोर किशोरीहरूमा जीवन उपयोगी सीपको विकास गर्नुपर्छ। 

आत्महत्या सम्बन्धी अधिकांश घटना रोकथाम गर्न सकिन्छ भन्ने सन्देश प्रवाहमा सञ्चारमाध्यमको भूमिका हुने मनोविद् ढकालको तर्क छ। आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा घटनाको विस्तृत विवरण उल्लेख गर्न नहुने चिकित्सकको मत छ। 

आत्महत्याको घटना अत्यन्तै संवेदनशील विषय भएकाले जीवन परिवर्तनका लागि एक मिनेटको समय पनि निकै महत्वपूर्ण हुने मनोचिकित्सक तथा मनोविद्हरू बताउँछन्।

भदौ २६, २०८० मंगलबार ०९:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।