लण्डनको आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को भव्य प्रिमियर
काठमाडौं : नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार रोज्नेक्रम जारी छ। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्नका लागि मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’को लन्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ।
आइतबार हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा फिल्मको प्रिमियर गरिएको हो।
निर्देशक तथा निर्माता समेत रहेका चाम्सका अनुसार फिल्म गोर्खालीहरूले मलाय युद्धमा सफलता हासिल गरेको सहासिक कथामा बनेको हो। फिल्मको प्रिमियर शोमा फिल्मलाई राम्रो साथ मिलेको उनले बताए।
प्रिमियरमा नौ सय जना अतिथिले फिल्म हेरेको निर्देशक चाम्सले जानकारी दिए।
प्रिमियर शोमा दिउँसो १२ बजेबाट २ बजेसम्म रेकड कार्पेट इभेन्ट गरिएको थियो भने त्यसपछिबाट आइम्याक्स सिनेवर्ल्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो। विभिन्न कार्यक्रमपछि फिल्म ‘गोर्खा वारियर’को प्रदर्शन सुरु भएको निर्देशक चाम्सले बताए।
उनले यो ठाउँमा फिल्म प्रिमियर गर्नका लागि २० वर्षअघि सपना देखेको बताउँछन्।
रेड कार्पेट इभेन्टमा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए भने ब्यान्डका तर्फबाट फिल्मकै गीतको धुन प्रस्तुत गरिएको थियो।
प्रिमियरमा विशिष्ठ अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक तथा गीतकार शैलेन्द्र खनाल ‘सरद’ उपस्थित थिए।
हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रूपमा प्रिमियरमा सहभागी भए।
फिल्मलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रूपमा रिलिज गर्ने निर्देशक चाम्सको तयारी छ। फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ।
फिल्म नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने निर्देशक चाम्सले बताए।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई सुमन राई, सुस्मिता वाइवाले निर्माण गरेका हुन्। कार्यकारी निर्माताका रूपमा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सह–निर्मातामा सुरेश राई छन्।
भदौ २५, २०८० सोमबार १९:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।