एसिया कप : पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल लक्ष्य
काठमाडौं : एसिया कप अन्तर्गत सुपर फोरमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रन बनाएसँगै पाकिस्तानले ३५७ रनको विशाल लक्ष्य पाएको हो।
भारतले पाकिस्तानलाई दिएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो लक्ष्य हो।
भारतका लागि विराट कोहली र केएल राहुलले अविजित रहँदै क्रमशः १२२ र १११ रनको शतकीय पारी खेले। रोहित शर्मा र शुभमन गिलले पनि क्रमशः ५६ र ५८ रनको अर्धशतकीय पारी खेले।
योसँगै विराट कोहलीले एकदिवसीय खेलमा १३ हजार रन पूरा गरेका छन्।
पाकिस्तानका शाहीन शाह अफरिदी र शाहदाब खानले समान एक–एक विकेट लिए।
आइतबार भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि पानी रोकिए पनि मैदान पूरै भिजेका कारण खेल सुरू हुन सकेको थिएन। सोमबार त्यहि स्थानबाट खेल भएको हो।
पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। तर, पानी परेर खेल रोकिएमा २० ओभरसम्म खेलाउने कोसिस हुनेछ। तर त्यो पनि सम्भव नभएमा दुवै टोलीले अंक बाँड्नेछन्।
भदौ २५, २०८० सोमबार १८:५८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।