कोलम्बोमा आज पनि वर्षा, सवा तीन बजे सुरू हुने भनिएको खेल अझै हुन सकेन

कोलम्बोमा आज पनि वर्षा, सवा तीन बजे सुरू हुने भनिएको खेल अझै हुन सकेन

काठमाडौं : आइतबार रोकिएको एसिया कप अन्तर्गत सुपर फोरको भारत र पाकिस्तानबीचको खेल सोमबार (आज) पनि सुरू हुन सकेको छैन।

वर्षाका कारण आज सवा ३ बजेदेखि हुने भनेको खेल अहिलेसम्म सुरू हुन नसकेको हो। बिहानैदेखि कोलम्बोमा वर्षा भएका कारण कभर गरिएको मैदान अझैसम्म झिकिएको छैन।

आज पनि खेल हुन नसके भारत र पाकिस्तानबीच १-१ अंक बाँडिनेछ। यसअघि समूह चरणमा भएको खेल पनि वर्षाका कारण रोकिएपछि अंक बाँडिएको थियो।

कोलोम्बोको आर प्रेमादाशा स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

त्यसपछि पानी रोकिए पनि मैदान पूरै भिजेका कारण खेल सुरू हुन सकेको थिएन। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएका कारण आज जहाँ रोकिएको हो, त्यहिँबाट सुरू हुने भनिएको थियो।

योसँगै अब भारतले तीन दिन लगातार खेल खेल्ने भएको छ। मंगलबार भारतले श्रीलंकासँग खेल्दैछ।

आइतबारको खेलमा पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरे। रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट हुँदा गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए। शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट गिल क्याच आउट भए।

भदौ २५, २०८० सोमबार १५:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।