भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

मध्यविन्दु(नवलपरासी) : पाल्पाबाट अवैध रूपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन्।

तस्करले अवैध रूपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए।

‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ,’ उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन्।’

पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन्।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको रेग्मीले बताए। गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा छन्।

भदौ २५, २०८० सोमबार १४:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।