‘कालो इतिहास’ कोर्न सफल भएकोमा भुवन केसीलाई बधाई !

‘कालो इतिहास’ कोर्न सफल भएकोमा भुवन केसीलाई बधाई !

काठमाडौं : बुझेका व्यक्तिलाई सम्बन्धित क्षेत्रको नेतृत्व दिंदा सधैं सकारात्मक परिणाम आउन सक्दैन भन्ने प्रमाणित गरे चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले।

उनी कलाकार मात्र होइनन्, फिल्म निर्माता समेत हुन्। तर नालायकीपन देखाउँदै उनले धर्मको नाममा भएको राजनीतिको सहयोगी बन्दै अर्का फिल्म निर्माता झरना थापालाई सकेसम्म संकटमा पारे। 

फिल्मको कथा सारांश स्वीकृत गरेर आफैंले निर्माण गर्न अनुमति दिएको फिल्मलाई उनले प्रदर्शनको मुखैमा आएर अवरोध गरे। धर्मको आवरणमा विरोधमा उत्रिएको समूहसँग नतमस्तक भएर प्रचारको अन्तिम चरणमा फिल्मको नामै असुहाउँदो राख्न बाध्य बनाए।

प्रसंग उही ‘एक भगवत् गीता’ फिल्मको हो। फिल्म धार्मिक नभइ सामाजिक विषयमा बनेको छ। यो बोर्डले नि स्विकार गर्यो।

विरोध गर्ने ‘धर्मको नाममा खुलेको संस्था’का प्रतिनिधिले पनि कथामा आपत्ति जनाएनन्। तर नाममा उनीहरूको आपत्ति रह्यो। भागवत् र गीता नामक पात्रमा केन्द्रित कथामा बनेको फिल्मको नाम ‘भगवत् गीता’ राखियो। पछि ‘एक भगवत् गीता’ राखियो।

सुटिङ सक्कियो। फिल्मको टिजर सार्वजनिक भयो। ट्रेलर आएपछि विरोध सुरु भयो। बोर्ड र विरोधी संस्थाका प्रतिनिधि मिलेर फिल्मको नाम एक भगवत् गीताबाट ‘एक भगवत् र गीता’ मात्र बनाइएन ब्राकेटमा (सामाजिक कथा) पनि राख्न लगाइयो। 

फिल्मको प्रचारमा नामको महत्व हुन्छ नै। त्यसमा पनि प्रचारको अन्तिम चरणमा पुगेको बेला धार्मिक संस्थाले शब्दको सर्वाधिकार दावी गर्नु अनि बोर्डले समेत उनीहरूलाई नै साथ दिनुले तत्काल समस्या समाधान भए झैं देखिए पनि वास्तवमा नेपाली फिल्म क्षेत्रमा एक घातक प्रवृत्ति भित्रिएको छ। 

यसले भोलिका दिनमा अन्य निर्माताहरूले भगवत् गीता समूहले भन्दा ठूलो समस्या झेल्ने पक्का छ। अब फिल्म बनाउनु अगाडि बोर्डबाट मात्र स्वीकृति लिएर हुन्न अन्य समूहको पनि अनुमति लिनुपर्छ भन्ने गैरकानुनी प्रक्रियालाई वैध सरकारी निकायले स्विकार गर्यो।

फिल्म प्रदर्शन योग्य हो होइन सेन्सर बोर्डको निर्णय मात्र अन्तिम हुन्न भन्ने भुवन केसीले नै सदर गरे। 

यो भन्दा लज्जास्पद विषय के हुन सक्छ? सरकारले सरकारी नीति नियमलाई बलियो बनाउन नियुक्त गरेको व्यक्तिले नै सरकारी नीति अनि नियमलाई पंगु बनाएर निश्चित स्वार्थ बोकेको समूहलाई निर्णायक बनाउने काम गरे।

नायिकालाई यौन दुर्व्यवहार गरेको विवाद अदालतमा विचाराधीन रहँदा नै सरकारले उनलाई बोर्डको अध्यक्ष बनायो। मानव बेचविखनमा जोडिएको कम्पनीसँग मिलेर फिल्म महोत्सव गरे उनले।

नाबालिग बलात्कार पीडितलाई थप पीडा दिंदै अभियुक्तको पक्षमा खुल्ला वकालत गर्नेलाई महिला चलचित्रकर्मीको हित गर्ने समितिमा सदस्य बनाए। एक भगवत् गीता विवादमा भने हदै गरे।

बोर्डको नेतृत्वको दावी गर्दा उनले आफूलाई चलचित्र क्षेत्रबारे सबै जानकारी भएकाले असल कामका लागि आफू नेतृत्वको लागि सक्षम रहेको दाबी गरेका थिए। तर आफू फिल्म क्षेत्र अनि फिल्मकर्मीको हितमा काम गर्न होइन कालो इतिहास कोर्न बोर्डमा आएको उनैले पुष्टि गरिदिए।

कालो इतिहास निर्माणमा सफल भएकोमा बधाई नै भनौं।

सम्बन्धित समाचारः

भदौ २५, २०८० सोमबार १३:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।