वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रधानमन्त्री गन्तव्य देशका राजदूतसँग छलफल गर्दै

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रधानमन्त्री गन्तव्य देशका राजदूतसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग वृहत् छलफल गर्दै छन्।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मंगलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्।

प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिंदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।
       
कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ।

भदौ २५, २०८० सोमबार ०८:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।