उकेरा टप फाइभ : बीपी कुट्ने मातृकाप्रसादको योजनाका ‘साक्षी’ पुरुषोत्तमको संस्मरणदेखि साहित्यकार रन्जनाको प्रसव पीडासम्म

उकेरा टप फाइभ : बीपी कुट्ने मातृकाप्रसादको योजनाका ‘साक्षी’ पुरुषोत्तमको संस्मरणदेखि साहित्यकार रन्जनाको प्रसव पीडासम्म

काठमाडौं : आइतबार ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालतले फैसला गर्यो। जसमा पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दियो। १८ जनामध्ये १७ जनालाई धरौटीमा र एक जनालाई धरौटीविना रिहाको आदेश दियो।

आइतबार नै नेपाली कांग्रेसले तीन दिने बीपी साहित्य महोत्सव आयोजना गर्यो। पहिलो दिन सभापति शेरबहादुर देउवा, साहित्यकार अभि सुवेदी लगायतका बीपीबारे आ–आफ्नो धारणा प्रस्तुत गरे। कोइरालाको ११० औ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिले महोत्सवको आयोजना गरेको हो।

एसिया कप अन्तरगत आइतबार भएको भारत र पाकिस्तानबीचको खेल स्थगित भयो। कोलम्बोमा वर्षा भएपछि दुई टीमको खेल अब पुनः भोलि हुने भएको हो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले आइतबार बिहानै बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा मातृकाप्रसाद कोइरालाले बीपीलाई कुट्ने योजना बनाएको घटनाका साक्षी पुरुषोत्तम शमशेर जबराको संस्मरण लेख्यो। बीपीलाई कुट्नु केही दिनअघि मातृकाप्रसाद कोइरालालाई भेटेका थिए पुरुषोत्तम शमशेरले। प्रधानमन्त्री भएपछि त्रिपुरेश्वरमा बस्थे कोइराला।
पूरा समाचारः बीपीलाई कुट्ने मातृकाप्रसादको योजनाका ‘साक्षी’ पुरुषोत्तम शमशेर जबरा

बिहानै उकेराले पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार लेख्यो। गितेन्द्र राई (जीबी) समूहको पहिलो सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि उनीविरुद्ध पक्राउपुर्जी जारी भएको हो।
पूरा समाचारः ग्यालेक्सी टीभीका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी, ७ जनाले १ अर्ब ८ करोड ठगी गरेको आरोप

दिउँसो उकेराले खसीको मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि मृत्यु भएका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको मृत्युमा उनको उपचारमा संलग्न चिकित्सकको कुनै लापरबाही नभएको जिल्ला अदालत रुपन्देहीले ठहर गरेको समाचार लेख्यो। यद्यपि यसअघि मेडिकल काउन्सिलले भने यस घटनामा उपचारमा संलग्न सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाही देखिएको ठहर गरेको थियो। 
पूरा समाचारः घाँटीमा हड्डी अड्किएर ज्यान गुमाएका डा. ज्ञानेश्वरः मेडिकल काउन्सिलले डाक्टरलाई दोषी देखायो, अदालतले बिरामीलाई


अपरान्ह उकेराले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ मध्ये १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायधीश भोलानाथ ढकालको इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको हो।
पूरा समाचारः ललिता निवास जग्गा प्रकरणः १७ जनासँग धरौटी माग, एक सामान्य तारेखमा छुटे

राति उकेराले आफ्नो नियमित स्तम्भ प्रसव पीडा खुसी लेख्यो। जसमा साहित्यकार रञ्जना निरौलाको अनुभव समेट्यो। चारवटा कृतिमध्ये तीनवटा कविता संग्रह र एउटा निबन्ध संग्रह प्रकाशित रहेको उनी पछिल्लो समय निबन्धमै रमाउन थालेकी छन्। कवि र समीक्षकबीच परिचित उनको साहित्य यात्रा २०६७ सालदेखि सुरू भएको हो।
पूरा समाचारः साहित्यकार रन्जनाको प्रसव पीडा र खुसीः १८ घण्टासम्म व्यथा लागेपछि ‘अरू केही चाहिँदैन मलाई चाहिँ बचाउनुस्’ भनेँ

भदौ २४, २०८० आइतबार २२:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।