मान्छेलाई इमोश्नल मात्रै बनाएर हुँदैन : सांसद खतिवडा

मान्छेलाई इमोश्नल मात्रै बनाएर हुँदैन : सांसद खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउनका लागि उत्साहित (मोटिभेशन)गर्ने पद्दतिको विकास गर्नुपर्ने बताएका छन्।

आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका विषयको अतरक्रियात्मक एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

खतिवडाले व्यक्तिलाई भावतात्मक मात्रै बनाएर समस्याका समाधान नहुने तर्क गरे।

‘मान्छेलाई इमोश्नल मात्रै बनाएर समस्या समाधान हुँदैन’, उनले भने। त्यसैले धैयता हुनुपर्ने उनको तर्क थियो।

सरकारले जनतालाई डेलिभरी दिन नसक्दा निराशा उत्पन्न भएको उनको तर्क छ।

संयमित भएर धैर्यतापूर्वक मुलुकको अवस्थाअनुसार देश र जनतालाई सम्बोधन गर्न सकेको खण्डमा आत्महत्या निरुत्साहित बनाउने वातावरण सिर्जना हुने उनको भनाइ छ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले आत्महत्या रोक्नका लागि मन्त्रालयस्तरमै आत्महत्या नियन्त्रण शाखा बन्न आवश्यक रहेको बताए। देशभरका सात सय ५३ वटै स्थानीय सरकारमा हेल्पलाइन खोल्न आवश्यक रहेको उनको भनाइ छ।

मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको बताए। डिप्रेसनको उपचार सम्भव रहेको बताउँदै आत्महत्या न्यूनीकरणका लागि समयमै समस्याको पहिचान गरी उपचार गर्न आवश्यक रहेको उनले बताए।

मनोविद गोपाल ढकाल, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेल लगायतले आत्महत्या न्यूनिकरणमा मिडियाको भूमिकाको विषयमा समेत धारणा राखेका थिए।

भदौ २४, २०८० आइतबार २१:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।