भारत र पाकिस्तानको खेल स्थगित, भोलि आजकै ठाउँबाट सुरू हुने
काठमाडौं : एसिया कपको सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण भाेलिलाई सरेको छ।
कोलोम्बोको आर प्रेमादाशा स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
त्यसपछि पानी रोकिए पनि मैदान पूरै भिजेका कारण खेल सुरू हुनसकेन। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएकाले अब सोमबार भारतले जहाँ रोकिएको हो, त्यहिँबाट खेल सुरू गर्नेछ।
योसँगै अब भारतले तीन दिन लगातार खेल खेल्ने भएको छ। मंगलबार भारतले श्रीलंकासँग खेल्दैछ।
आजको खेलमा पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरे। रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे।
रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट हुँदा गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए।
शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट गिल क्याच आउट भए।
भदौ २४, २०८० आइतबार २१:२१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।