‘एक भगवत गीता’ विवाद : तीन घण्टाको छलफलपछि सहमति जुट्यो, नाम पनि फेरियो

‘एक भगवत गीता’ विवाद : तीन घण्टाको छलफलपछि सहमति जुट्यो, नाम पनि फेरियो

काठमाडौं : आइतबार फिल्म ‘एक भगवत गीता’को नामको विवादमा सुल्झियो। चलचित्र विकास बोर्डमा निर्माण टिम र हिन्दुवादी धार्मिक समूहबीच तीन घण्टाको छलफलपछि फिल्मको नाम परिवर्तन गर्ने सहमति भयो।

चलचित्र विकास बोर्डको समन्वयमा विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, हिन्दु जागरण नेपाल, विश्व हिन्दु युवा संघ नेपाल अन्तर्राष्ट्रिय समिति लगायत १३ वटा धार्मिक संस्थाबीचको फिल्मको नाम ‘एक भागवत, एक गीता (सामाजिक कथा)’ राख्ने सहमति जुट्यो।

सहमति गराउन कलाकार दीपकराज गिरी लगायतका कलाकार र निर्माता त्यहाँ उपस्थित थिए। गिरीले फिल्मको अगाडि गीता र पछाडि भगवत् राख्न प्रस्ताव गरे। त्यसपछि निर्देशक दीपेन्द्र के खनालले नाम जुराए।

छलफलका क्रममा फिल्मका निर्माता सुनिलकुमार थापाले नाममा आफूले यसअघि नै परिवर्तन गरिसकेको भन्दै अब गर्न नसकिने बताएपछि केहिबेर माहोल बिग्रिएको थियो। पछि दुवैतर्फबाट ‘भगवत् गीता’को अगाडी र पछाडि केहि थप्ने कुरामा सहमत भए।

एक साताअघिदेखि हिन्दुवादी संगठनले फिल्मको नाम परिवर्तन नगरी हलमा चलाए जे पनि हुनसक्ने भन्दै धम्की दिएका थिए। धम्कीपछि विकास बोर्ड निरीह बनेर सेन्सर सिफारिस रोकेको थियो।

बोर्ड अध्यक्ष भुवन केसीले फिल्मलाई सेन्सर सिफारिस नदिएको आरोप झुटो भएको दाबी गरे। सेन्सर सिफारिस दिन बोर्डलाई कुनै आपत्ति नभएको भन्दै उनले सहमति भएसम्म माहोल नबिगार्न आफू लागेको तर्क गरे।

यति मात्र होइन, उनले त आफूले सेन्सर सिफारिस शुक्रबार नै दिन लागेको दाबी गर्दै विनाकारण विवादमा मुछेको बताए।

‘चलचित्र विकास बोर्डले फिल्मको सेन्सर सिफारिस दिन कुनै आपत्ति थिएन। बोर्डले फिल्म सेन्सर सिफारिस रोक्ने पनि होइन। तर, यहाँ बोर्ड सेन्सर सिफारिस नदिएको भन्ने गलत समाचार आए।  बोर्डले कुनै सिफारिस रोकेको छैन र हैन।’

केसीले निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमति आइतबार (आज) नभएको अवस्थामा फिल्मको सेन्सर सिफारिस दिने पक्षमा रहेको बताए।

उनले भने, ‘शुक्रबार सेन्सर सिफारिस दिने पक्षमा थिएँ। आइतबार छलफलपछि जुनै निष्कर्ष निस्किए पनि सेन्सर सिफारिसमा जान्थ्यो। जे गर्नु थियो सेन्सरले गथ्र्यो।’

फिल्म निर्माता संघका अध्यक्ष नवल खड्काले दुवै पक्षलाई सहमतिमा जुट्न आग्रह गरेका थिए। उनले अबका दिनमा निर्माताहरूलाई फिल्म निर्माण गर्दा यस विषयले सोचमग्न बनाएको र आइन्दा यस्तो समस्या नआउने दाबी गरे।

निर्देशक झरना थापाले आफू धार्मिक मान्छे भएको हुनाले यस नामबाट खासै अफ्ठ्यारो नहोला भनेर फिल्म निर्माण गरेको बताइन्।

उनले सात महिनाअघि आएको बोर्डमा आएको धार्मिक संस्थाको पत्रका बारेमा बोर्डमा छलफल गर्दा फरक विषयवस्तु भएकोले कुनै अफ्ठ्यारो नपर्ला भनेर फिल्म निर्माणमा होमिएको बताइन्।

‘मैले र हामीले कहि पनि ‘भागवत गीता’ फिल्म धार्मिक हो भनेको भनेको छैनौँ’, उनले भनिन्।

दुई महिनाअघि नै टिजर रिलिज हुँदा विरोध गरेको भए नाममा केहि परिवर्तन गर्न सकिने भए पनि रिलिजको समयमा आएर विरोध गर्दा आफूहरू अप्ठ्यारोमा परेको बताइन्।

झरनाका अनुसार धार्मिक संगठनहरूले १५ दिनअघिबाट मात्रै फिल्मको नामलाई विरोध गर्न थालेका हुन्। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा धार्मिक संगठनहरूले नाम परिवर्तनका लागि दबाव दिएको निर्देशक थापाको भनाइ छ।

धार्मिक संगठनका तर्फबाट हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले फिल्मको कन्टेन्टमा आफूलाई कुनै आपत्ति नभएको भन्दै नाममा केहि थपघट गर्न आग्रह गरेका थिए।

फिल्मलाई आजै चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिएको छ। 

भदौ २४, २०८० आइतबार १९:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।