कोशीमा दुई अध्यादेश जारी
विराटनगर : कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गरेका छन्।
नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो।
जारी भएको अध्यादेश कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० रहेको प्रदेश प्रमुखको कार्यालयका सचिव नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
बजेट होलिडेमा पुगेकाे प्रदेश सरकारलाई गति दिन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेश ल्याएका हुन्। सरकारी ढुकुटीबाट खर्च राेकिने अवस्थालाई बजेट हाेलिडे भनिन्छ। यस्ताे अवस्था आएसँगै कोशी प्रदेशले सरकारले भदौ ११ गतेदेखि बजेट खर्च गर्न पाएको थिएन।
यसअघि पनि मुख्यमन्त्री हिक्मत कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। उनले असार १४ गते प्रदेश सभामा बजेट अध्यादेश पेश गरेका थिए।
प्रदेश सभामा अध्यादेश पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्नेमा प्रतिस्थापन विधेयक आउन नसक्दा अध्यादेश स्वत: निष्क्रिय भएर प्रदेशमा बजेट होलिडेको अवस्था आएको थियो।
भदौ २४, २०८० आइतबार १८:२५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।