शीर्ष नेताहरूलाई प्रचण्डले भने : चीन भ्रमण फलदायी र प्रभावकारी हुन्छ

शीर्ष नेताहरूलाई प्रचण्डले भने : चीन भ्रमण फलदायी र प्रभावकारी हुन्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आइतबार आयोजित छलफलमा प्रचण्डले भ्रमण बारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरे।  

छलफलमा प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिंदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए।

बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्री लगायतका राजनीतिक नेताहरू सहभागी थिए।

छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको, दुवै देशले एकअर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव दिए।

‘यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ। प्राप्त सुझाव महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ,’ सुझावपछि प्रचण्डले भने।

उनले सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए।

भदौ २४, २०८० आइतबार १४:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।