घाँटीमा हड्डी अड्किएर ज्यान गुमाएका डा. ज्ञानेश्वर : मेडिकल काउन्सिलले डाक्टरलाई दोषी देखायो, अदालतले बिरामीलाई

घाँटीमा हड्डी अड्किएर ज्यान गुमाएका डा. ज्ञानेश्वर : मेडिकल काउन्सिलले डाक्टरलाई दोषी देखायो, अदालतले बिरामीलाई

बुटवल : खसीको मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि मृत्यु भएका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको मृत्युमा उनको उपचारमा संलग्न चिकित्सकको कुनै लापरबाही नभएको जिल्ला अदालत रुपन्देहीले ठहर गरेको छ। 

१० वर्षदेखि भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) मा कार्यरत सिंहको २०७६ माघ २ गते मृत्यु भएको थियो।

यसअघि मेडिकल काउन्सिलले भने यस घटनामा उपचारमा संलग्न सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाही देखिएको ठहर गरेको थियो। 

२०७६ भदौ १० गते राति खसीको मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि सोही अस्पतालमा भर्ना भएका उनको थप उपचारका लागि काठमाडौं लगिएकामा माघ २ गते मनमोहन अस्पताल काठमाडौंमा मृत्यु भएको थियो।

उपचारका क्रममा लापरबाही भएको भन्दै डा. सिंहकी पत्नी वीणा सिंहले ३ चिकित्सकलाई प्रतिवादी बनाएर १६ कार्तिक २०७७ मा जिल्ला अदालतमा रिट दायर गरेकी थिइन। 

जिल्ला अदालत रुपन्देहीले १४ चैतमै न्यायाधिस कृष्णराम कोइरालाको एकल इजलासमा फैसला सुनाए पनि गत बिहीबार मात्र फैसलाको पूर्णपाठ आएको हो। पूर्णपाठमा चिकित्सकको लापरबाही नभइ बिरामीकै लापरबाहीले मृत्यु भएको उल्लेख छ।

फैसलामा बिरामीलाई मुखबाट खान नहुने सल्लाह दिए पनि आफूखुसी गरेको भनिएको छ। त्यस्तै इन्डोस्कोपी गर्ने प्लान गरिएकोमा बिरामी स्वयंले कुनै पनि जाँच परीक्षण कार्य गर्न सहमति नदिएकाले उपचारमा बाधा परेको पनि फैसलामा उल्लेख छ।

‘बिरामीको उपचारमा संलग्न अस्पताल र चिकित्सकले गर्नुपर्ने काम नगरेको नभइ हर सम्भव प्रयास गरेको देखिन आएबाट बादीको दाबीमा सत्यताभन्दा बढी असत्यता, यथार्थभन्दा बढी काल्पनिकता र मागदाबी नै अस्पष्ट प्रकारको रहेको देखिन आएकाले मागदाबी बमोजिम क्षतिपूर्ति दिलाई पाउँ भन्ने दाबी पुग्न सक्दैन’ फैसलामा भनिएको छ। 

काउन्सिलको छानबिनमा भने डाक्टरको गल्ती

यस घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्दा भने उपचारमा लापरबाही देखिएको ठहर गरेको थियो। पीडित परिवारको तर्फबाट डा. सिंहकी श्रीमती वीणा सिंहले काउन्सिलमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।

पीडित परिवारले ३० माघ २०७७ मा नेपाल मेडिकल काउन्सिललाई काउन्सिलको नियमावलीको नियम २२ बमोजिम आचारसंहिता विपरीत हेलचेक्य्राइँ र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गरी पाऊ भन्दै पत्राचार गरेका थिए।

काउन्सिलले युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जलाई ७ चैत २०७६ मा निर्देशन सहितको पत्राचार गरी उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक, डा. सन्तोष साहलाई काउन्सिलको २२ फागुन २०७६ को पूर्ण बैठकले कारबाहीका लागि थप स्पष्टीकरण माग गरेको थियो।

स्पष्टीकरण मागपछि काउन्सिलले डा. सन्तोष साहको संलग्नता नदेखिएकाले उनलाई सफाइ दिने र विश्व तुलाचनको हकमा एक वर्षका लागि ईसोफेजिएल इण्डोस्कोपी गर्न नदिने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

त्यसैगरी बन्दाबन्दीका कारण स्पष्टीकरण दिन नसकेका एनेस्थेसियाका चिकित्सकलाई लिखित जवाफ दिन २ हप्ताको समय दिएको निर्णय गरेको थियो। 

काउन्सिलको यो कारबाहीप्रति पनि डा. सिंहको परिवार सन्तुष्ट भने थिएन। पुनः परिवारले ४ असोज २०७७ मा काउन्सिललाई अनुसन्धान प्रक्रिया दोहर्याइ कडा सजाय दिन र छानबिनको फाइल रिपोर्ट प्राप्त गर्न अनुरोध गर्दै निवेदन दिएको थियो।

डा. विश्व तुलाचनलाई परिषद्को कानुनमा उल्लेख गरिएको कडा सजाय दिन र डा. लक्ष्मी पाठकलाई अनुसन्धान पूरा गर्नसमेत पीडित परिवारको तर्फबाट डा. सिंहकी श्रीमती विनाले निवेदन दिएकी थिइन्।

त्यस्तै, काउन्सिलको अनुसन्धानबाट उपचारमा संलग्न नभएको भनिएका डा. सन्तोष शाहमाथि पनि पुनः अनुसन्धान गर्नसमेत उनले माग गरेकी थिइन्। 

त्यसपछि भने मेडिकल काउन्सिलले गरेको छानबिनमा डा. सिंहको मृत्यु चिकित्सकको लापरबाहीले भएको प्रतिवेदन तयार गरेको थियो। उपचारमा लापरबाही गरेको ठहर गरी डा.विश्व तुलाचनलाई एक वर्ष अभ्यास गर्न समेत रोक लगाउनुका साथै काउन्सिलले अस्पताललाई सेवा सुधार गर्न निर्देशन पनि दिएको थियो।

काउन्सिलको प्रतिवेदनलाई अदालतले काल्पनिक भन्यो, पुनरावेदन जान्छौ : परिवार

‘मेडिकल काउन्सिलमा २० औं वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरूले बनाएको प्रतिवेदनलाई समेत अदालतले काल्पनिक विवरण भनेकोमा धेरै चित्त दुखेको छ। न्यायका लागि अदालतमा पुगे पनि अदालतले झनै अन्याय गरेको महसुस गरेरै यो केश पुनरावेदनमा लैजाने योजनामा छौ,’ मृत्तक सिंहका छोरा प्रज्वल सिंहले भने।

प्रज्वलका अनुसार बुबाको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको छ। उनले भने, ‘मैले आफूलाई जस्तै अरूलाई नपरोस् भनेर यो केश लडेको हुँ। तर अझै पनि न्यायको आशा मारिसकेको छैन। कहाँसम्म जानुपर्छ म जान्छु।’

काउन्सिलले डाक्टरलाई नै सस्पेन्स गरेको छानबिन निकाल्दा अदालतले भने काल्पनिक भनेर व्याख्या गर्नुले आफूहरूको चित्त दुखेको उनले बताए।

घटना के थियो? 

युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंह १० भदौ २०७६ मा श्रीमती वीणासहित एक पार्टीमा सामेल भए। साँझ ९ बजे खाना खाने क्रममा खसीको हड्डी घाँटीमा अड्कियो। त्यसपछि तत्कालै उनलाई मेडिकल कलेज भैरहवामा लगियो।

त्यो रात डा. सिंहको उपचार भएन। ११ भदौमा चिकित्सकको टोलीले घाटीमा अड्किएको हड्डी निकाल्न अप्रेसन गर्यो। पाँच घण्टा लगाएर अप्रेसन गरे पछि आधा हड्डी निस्किएको र आधा हड्डी पेटमा पुर्याएको चिकित्सकले परिवारलाई बताए।

अप्रेसन सफल भएको भन्दै जुस खान हुने बताए। तर, १४ गते डा. सिंहले बान्ता गरे। उनलाई असहज भयो। त्यसपछि परिवारले उनको सीटी स्क्यान गर्न आग्रह गरे। अस्पतालले पर्दैन भने पनि सीटी स्क्यान गर्दा हड्डी घाँटीमै देखियो। 

त्यसपछि पुनः डा. सिंहलाई आईसीयूमा सारियो। आईसीयूमा लैजानासाथ अस्पतालले अर्को अप्रेसन गर्न काठमाडौं लैजानुपर्ने परिवारलाई बतायो। परिवारले हेलिकोप्टरमार्फत काठमाडौं लगे।

मनमोहन अस्पतालमा लगेर बिरामी भर्ना भएपछि उपचार सुरु भयो। त्यहाँ सुरुमै बिरामीको इन्डोस्कोपी गरियो। ईन्डोस्कोपी गरेर हेर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत इन्फेक्सन भएको देखियो।

अस्पतालले अप्रेसन गरेर हड्डी निकाले पनि खाना नलीमा भएको संक्रमण छातीसम्म पुग्यो। ३ महिना आईसीयूमा राखेर उपचार गरे पनि सुधार भएन। अन्ततः २ माघ २०७६ मा डा. सिंहको मृत्यु भएको थियो।

यूसीएमएसका चिकित्सकले आधा हड्डी निकालेर बाँकी आधा पेटमा पुराएको बताए पनि हड्डी घाँटीमै रहेकाले खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत संक्रमण भएका कारण उनको मृत्यु भएको मनमोहन अस्पतालले बताएको थियो।

भदौ २४, २०८० आइतबार १३:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।