मलङ्गवामा कर्फ्यु हटे पनि निषेधाज्ञा जारी

मलङ्गवामा कर्फ्यु हटे पनि निषेधाज्ञा जारी

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज (आइतबार) बिहान ८ बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु  हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए।

कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ। बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन्।

मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी भने परिचालन गरिएको छ। 

व्यक्तिहरूले हिंडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर विरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर फर्किने क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो।

भदौ २४, २०८० आइतबार १२:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।