बेनीको शिवशिखर सहकारीका पीडितलाई उजुरी गर्न प्रहरीको अपिल

बेनीको शिवशिखर सहकारीका पीडितलाई उजुरी गर्न प्रहरीको अपिल

म्याग्दी : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ।

एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी ६ महिनायता बन्द छ। सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले बताए।

सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि हाल अनुसन्धान भइरहेको छ। मुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले अपिल गरेको हो।

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुनासो गरेका छन्। सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।

भदौ २४, २०८० आइतबार ११:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।