चलचित्र चल्नै नदिने अवस्था आउँदा मर्नु न बाच्नुको पीडा भइरहेको छ :  झरना थापा

चलचित्र चल्नै नदिने अवस्था आउँदा मर्नु न बाच्नुको पीडा भइरहेको छ :  झरना थापा

काठमाडौं : निर्देशक तथा अभिनेत्री झरना थापाले सामाजिक सञ्जाल, फेसबुकमार्फत आफूले बनाएको चलचित्र ‘एक भगवत गीता’ चल्ने नदिने अवस्था आउँदा ‘मर्नु न बाच्नुको पीडा भइरहेको’ बताएकी छन्।

चलचित्र एक भगवत गीता विवादमा आएपछि मध्यरातमा निकै लामो स्टाटस लेख्दै उनले सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आएको बताइन्।

‘आफ्ना सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने   अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ। थाहा छैन, हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन। थाह छैन , प्रिय दर्शकहरूको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन,’ झरनाले लेखेकी छन्। 

भाद्र २९ गतेदेखि प्रदर्शनमा आउने तैयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’ लाई चलचित्र विकास बोर्डले सेन्सर पास नगरेपछि निर्देशक झरनाले यस्तो गुनासो पोखेकी हुन्। विकास बोर्डमा केही धार्मिक सङ्घसंस्थाले यस फिल्मलाई रोक्न निवेदन दिएका थिए।

उनले थप लखेकी छन् , ‘समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं। चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता’ राख्यौं। मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र  सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन।’

भदौ २४, २०८० आइतबार ०९:२२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।