डा. पदमको उपचार अनुभव : रेलको लिकमा छिरेकी युवती रेलले किचेर विभत्स हुँदा पनि बाँचिन्

डा. पदमको उपचार अनुभव : रेलको लिकमा छिरेकी युवती रेलले किचेर विभत्स हुँदा पनि बाँचिन्

डा. पदमबहादुर खड्का अर्थोपेडिक सर्जन तथा स्पोर्टस् फिजिसियन हुन्। उनले विशेषगरी हाडजोर्नी सम्बन्धी समस्या भएका सयौं बिरामीको उपचार गरेका छन्। उपचार गरेकाध्ये केही घटना भने उनको मानसपटलमा ताजै छन्। चिकित्सकीय पेशाका सिलसिलामा देखे भोगेको यस्तै केही प्रसङ्ग डा. पदमले उकेरासँग साटेका छन्।

रेलले किचेर पनि बाँचेकी युवती
बंगलादेशको ढाका विश्वविद्यालय अन्तर्गत नेश्नल इन्स्टिच्युड अफ टर्माटोलोजी एण्ड र्युमाटिक रिह्याविटेशन(निटोर)मा स्नातकोत्तर तहको अर्थोपेडिक सर्जरी (एमएस) विषय अध्ययन गर्दाको एउटा घटना डा. पदम कहिल्यै भुल्दैनन्।

करिब १८ वर्षअघि करिब ३० वर्षकी एक जना घाइते अवस्थाकी युवतीलाई अस्पताल ल्याइयो। डा. पदमले नै अस्पतालको आकस्मिक कक्षमा ती घाइतेको स्वास्थ्य अवस्था हेरे। अस्पताल पु¥याउँदा ती युवतीको दुवै खुट्टाको घुँडाभन्दा तलको भाग नै थिएनन्। युवती रगताम्मे र विभत्स अवस्थामा थिइन्। तर, होसमा नै थिइन्।

बुझ्दै जाँदा थाहा भयो, ती युवती आत्महत्या गर्न रेलको लिकभित्र छिरेर सुतिछन्। रेलले किचेर घुँडाभन्दा तलको दुवै गोडा छुट्टिएछन्। युवतीको छिनेका गोडाको अत्तोपत्तै लागेन तर युवतीको घुँडाभन्दा माथिको शरीरको भाग भने सुरक्षित नै रहेछ।

गोडा छुट्टिएकाले ती युवतीको रक्तस्राव भएरै मृत्यु हुनसक्थ्यो। तर भाग्य नै भन्नुपर्छ ती युवतीको काटिएको गोडाको रगतको ठूलो नसा कसोकसो गरेर बन्द भएछ। जुन चमत्कारिक नै थियो।

डा. पदम लगायत चिकित्सकको टिमले अस्पतालमा युवतीको उपचार थाल्यो। चोट लागेको घाउ सफा गर्यो। चिकित्सकको टिमले घुँडाको शल्यक्रिया गर्यो। दुवै गोडा गुमे उनका। उपचारपछि ज्यान भने बाँच्यो।

करिब दुई महिनाको उपचारपछि युवती घर फर्किइन्। रेलको लिकभित्र छिरेकी युवतीको दुवै खुट्टा गुमेपनि ज्यान भने बाँचेको त्यो घटना सम्झँदा अझै डा. पदमको आङ सिरिङ्ग हुन्छ।

गाडीको ब्रेकको पाइडल पेटभित्र छिरेका युवा अस्पताल पुगेपछि...
बंगलादेशमा नै अर्थोपेडिक सर्जरी विषय अध्ययन गर्दाको अर्को घटना पनि डा. पदम कहिल्यै भुल्दैनन्। उनी अस्पतालको ड्युटीमा नै थिए। अस्पतालमा एक जना करिब ३० वर्षका युवा घाइते भएर आइपुगे।

ती घाइते युवा बस चालक रहेछन्। बस चलाउने क्रममा नै बसको ब्रेकको पाइडलले गोडा हुँदै भुँडी छेडेको अवस्थामा अस्पताल आइका थिए।

डा. पदमका लागि त्यो अनौठो घटना थियो। ती युवाको पेटमा अड्किएको गाडीको त्यो पाइडल निकाल्नका चिकित्सकको टिमले युवाको शल्यक्रिया थाल्यो। करिब एक घण्टामा युवाको पेटबाट गाडीको पाइडल निकालिएको डा. पदमले सुनाए।

पेटमा लागको घाउ सफा गर्दा युवाको पेटमा लुंगीको टालोसमेत भेटिएको उनले सुनाए। अर्थोपेडिक सर्जरी सम्बन्धी उपचारपछि चिकित्सकको टिमले पेटमा पनि चोट लागेको हुनसक्ने भएकाले पेटको उपचारका लागि ढाका मेडिकल कलेजमा रिफर ग¥यो। उपचारपछि ती बिरामी बाँचे।

माया मारेकी आमै बाँचिन्
त्यसो त उपचार गरेकामध्ये सबै बिरामीलाई बचाउन सम्भव हुँदैन। माया मारिसकेका कतिपय बिरामी चमत्कारिक रूपमा बाँच्दा डा. पदमलाई निक्कै आनन्द लाग्छ।

करिब १० वर्षअघि मुटुरोगको समस्या भएकी ७८ वर्षकी आमैलाई अस्पताल ल्याइयो। अस्पताल आइपुग्दा बिरामीको अवस्था जटिल बनिसकेको थियो। ती बजैलाई चिकित्सकको टिमले विद्युतीय मेसिनको सहायताले छातीमा झड्का दियो।

चिकित्सकको टिमको अथक उपचार प्रयासपछि भने ती आमैको मुटुको चाल फर्कियो र मुटुको चाल सन्तुलनमा आयो। आमैको ज्यान बाँच्यो। ती आमै केही दिनको अस्पताल बसाइपछि ठिक भएर डिस्चार्ज भइन्। त्यसपछि पनि ती आमै पाँच वर्ष बाँचेको डा. पदमले सुनाए।

९० दिनसम्म उपचारपछि बाँचेकी शिशुको नामै अस्पतालको नाम
केही वर्षअघि पोखराको गण्डकी अस्पतालमा करिब आठ सय ग्रामकी शिशु जन्मिइन्। तर, त्यहाँ शिशु राख्ने एनआईसीयू खाली थिएन।

त्यसैले शिशुलाई कास्की सेवा अस्पताल लगेर भर्ना गरियो। ती शिशुलाई एनआईसीयूमा राखेर चिकित्सकको टिमले उपचार ग¥यो। अस्पतालमा राखेर ९० दिन उपचार गरेपछि शिशु बाँचिन् र डिस्चार्ज गरियो। आमा बच्चा च्यापेर घर फकिईनन्।

पछि ती बच्चीको नाम नै उपचार गरी बचाउने अस्पतालको नामबाट ‘सेवा’ राखेको थाहा पाएको उनले सुनाए। पछि छोरी बचाइदिने अस्पतालमा ती बालिकाका बुवाले लड्डु नै बोकेर अस्पताल पुगेको डा. पदमले बताए।

जन्म बझाङ, घर नै अस्पतालजस्तो
बझाङको जयपृथ्वी नगरपालिका–२ मा जन्मिएका पदमले २०४६ मा स्थानीय सत्यवादी हाइस्कुलबाट एसएलसी गरे। थप अध्ययनका लागि काठमाडौं आएर अस्कल क्याम्पसबाट २०४९ मा आइएस्सी सके। अध्ययनमा अब्बल र बुवा स्वास्थ्यकर्मी भएकाले उनलाई सानैदेखि डाक्टर बन्ने रहर थियो।

आइएस्सीपछि २०५० मा पदम शिक्षा मन्त्रालयको छात्रवृति कोटोमा एमबीबीएस अध्ययनका लागि नेपालगञ्जको डिवाई पार्टील मेडिकल कलेजमा पुगे। निजी क्षेत्रको पहिलो मेडिकल कलेज थियो त्यो। तर सम्बन्धन नै लिएको रैनछ। कलेजको वैधानिकताको लफडा भएपछि करिब एक वर्ष पढाई बिथोलियो।

विद्यार्थीले पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा समेत उत्रिए, जसमा उनी पनि थिए। एक वर्षपछि भने सरकारले नै त्यहाँ पढ्न पुगेका विद्यार्थीलाई अन्यत्र विभिन्न ठाउँमा अध्ययनका लागि व्यवस्थापन गरिदियो।

एक वर्षपछि भने २०५१ मा केही विद्यार्थीलाई सरकारले कास्कीको पोखरास्थित काठमाडौं विश्वविद्यालय अन्तर्गत मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययन गर्ने व्यवस्थापन मिलाइदियो। २०५७ मा एमबीबीएस अध्ययन पूरा गर्दै उनी डा. पदम भए।

त्यसपछि उनले मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा नै करार मेडिकल अधिकृत जागिरेको रूपमा काम गर्न थाले। त्यहाँ उनले हाडजोर्नी (अर्थोपेडिक) विभागमा करिब दुई वर्ष काम गरे।

सरकारी अस्पतालबाट बिरामी रिफर नगर्ने बंगलादेशको त्यो नीति
डा. पदमलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले उनी थप अध्ययनका लागि सन् २००२ मा बंगलादेश पुगे। उनले बंगलादेशको ढाका विश्वविद्यालय अन्तर्गत नेश्नल इन्स्टिच्युड अफ टर्माटोलोजी एण्ड र्युमाटिक रिह्याविटेशन(निटोर)मा स्नातकोत्तर तहको अर्थोपेडिक सर्जरी (एमएस) विषय अध्ययन गरे।

त्यो सरकारी मेडिकल कलेज हो। त्यहाँबाट बिरामीलाई अन्यत्र रिफर गर्न पाइँदैनथ्यो। त्यसैले अस्पताल पुगेका बिरामीलाई अस्पतालमा जे–जस्तो सुविधा छ, त्यहीअनुसार उपचार गरिन्थ्यो। बेड नभएको अवस्थामा भुइँ, बरण्डा, अस्पतालको कोरिडोर जहाँ राखेर पनि उपचार गरेको डा. पदमले देखेनन् मात्रै, आफैँ उपचारमा संलग्न समेत भए।

अध्ययन गरेको बंगलादेशको त्यो मेडिकल कलेजको सरकारी अस्पतालमा पुगेका त्यस्ता असहाय बिरामीको औषधि उपचारदेखि खानपान सबैको निःशुल्क व्यवस्थापन गरिदिएको उनले देखेका छन्।

तर, नेपालमा भने सरकारी अस्पतालबाट समेत बेड छैन भनेर बिरामी निजि अस्पतालतिर रिफर गरेको देख्दा र सुन्दा डा. पदमको मन कटक्क हुन्छ।

‘सरकारी अस्पतालमा पुगेका बिरामीलाई अन्यत्र पठाउनु भनेको मर्न जा भनेजस्तै हो’, उनले भने।

सरकारी अस्पतालमा स्रोतको व्यवस्थापन गरेर दश प्रतिशत मात्रै होइन शत प्रतिशत बेड निःशुल्क गर्नुपर्ने उनको तर्क छ।

‘जनशक्ति, भौतिक पूर्वाधार लगायत अस्पतालमा राज्यले लगानि गरिदिने अनि बिरामी पक्षले अझै पैसा तिर्नुपर्ने’, डा. पदमले प्रश्न गरे।

नेपालमा नीति निर्माताहरूले कानूनमा एउटा लेख्ने, अर्को बोल्ने अनि लेखेर बोलेको भन्दा फरक तरिकाले काम गर्ने प्रवृत्ति भएकाले नेपालीले स्वास्थ्य सेवाको सवालमा पीडा भोग्नुपरेको उनको तर्क छ।

भर्खरका युवालाई क्यासर लाग्दा मनै विच्छिप्त
बंगलादेशमा अर्थोपेडिक सर्जरी विषयको अध्ययनपछि डा. पदम सन् २००५ मा नेपाल फर्किए। त्यसपछि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा काम गर्न थाले।

छालाको क्यासर भएका करि करिब २८ वर्षका युवाको शल्यक्रिया गर्नुपर्ने थियो। शरीरको अन्य भागमा क्यान्सर नफैलियोस् भनेर ती युवाको हिपभन्दा तल खुट्टा नै काट्नपर्ने अवस्था थियो। भर्खरका युवालाई क्यान्सर लागेको देखेर उनलाई दिक्क लागेको थियो। शल्यक्रिया गर्दा ती युवाको अप्रेशन टेबलमा नै मृत्युको जोखिम थियो।

डा. पदमलाई याद छ, दिउँसोको करिब एक बजेको थियो। ती युवालाई अपे्रशन थिएटरमा लगियो र शल्यक्रिया सुरू गरियो। डा. पदमको टिमले शल्यक्रियागरी उनको हिपभन्दा तलको भाग काटिदिए।

शल्यक्रिया सक्दा बेलुका करिब आठ बजिसकेको थियो। शल्यक्रिया सफल भए पनि ती बिरामी बाँच्ने सम्भावना न्यून भइसकेको थियो। झिनो आशाले नै उनको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया सकेर क्वाटरमा गएर खानपान गरेरर उनी सुते। तर, उनलाई न खान रुच्यो न निन्द्रा नै लाग्यो। उनलाई यति तनाव भयो की ति युवाको शल्यक्रिया गरेको दुई दिनसम्म उनले बिदा लिएर बसे। बिदा बसे पनि बिरामीको अवस्थाका बारेमा भने बिहान, बेलुका, दिउँसो फोन गरेर उनी सोधिरहन्थे।

तर, चिकित्सा विज्ञानमा उनले सोचेकोभन्दा फरक भयो। ती युवा चामत्कारिक रूपमा नै बाँचे। केही दिनको अस्पताल बसाइपछि उनी घर फर्किए। यद्यपि केही महिनापछि भने ती युवाको मृत्यु भएको उनले सुनाए।

युवावस्थाका व्यक्तिहरूमा क्यान्सर लागेर मृत्यु कुर्नुपरेको अवस्था देखेर डा. पदमलाई भरतपुर क्यान्सर अस्पतालमा कामै गर्न मन लागेन। करिब ६ महिना काम गरेपछि जागिर छाडे र भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा चार महिना काम गरे।

चितवनपछि डा. पदम काम गर्न पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा नै पुगे। त्यहाँ उनले हाडजोर्नी विभाग अन्तर्गत लेक्चररका रूपमा काम गर्न थाले। त्यहाँ दुई वर्ष काम गरेपछि उनी अर्थोपेडिक विषयको थप ज्ञान तथा सीपका लागि अष्टे«लिया पुगे। त्यहाँ उनले एक वर्ष जोर्नी प्रत्यारोपण, आर्थो प्लाष्टि, स्पोर्टस् मेडिसिन जस्ता विषयको ज्ञान लिएर स्वदेश फर्किए।

पत्रकारिताको अध्ययन र विद्यावारिधि
नेपाल फर्किएपछि भने डा. पदम पोखराकै गण्डकी मेडिकल कलेजमा लेक्चररका रूपमा काम गर्न थाले। त्यहाँ उनले एक वर्ष काम गरे। त्यसपछि भने उनलाई जागिर खानुभन्दा आफैँ केही गरौँ भन्ने लाग्यो अनि सन् २०१० मा कास्की अस्पताल खोले।

पोखरामा उनले अस्पताल सुरु गर्दा निजी क्षेत्रका अस्पतालमा आईसीयू तथा एनआईसीयू (क्रिटिकल केयर) थिएनन् रे। बिरामीले दुःख पाएको देखेर अस्पतालमा क्रिटिकल केयरको सेवा राखेको उनले बताए। दश बेडबाट सुरु भएको त्यो क्रिटिकल केयर विशेषगरी कोरोना भाइरस संक्रमणको समयमा निक्कै उपयोगी भएको डा. पदमले सुनाए।

हालसम्म उनी कास्की सेवा अस्पतालमा कार्यरत छन्। डा. पदम निजी अस्पतालहरूको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन, नेपाल (अफिन)को अध्यक्षसमेत हुन्। त्यसैगरी खेलाडीहरू हाडजोर्नी सम्बन्धी समस्या हुनबाट कसरी बच्ने र कसरी उपचार गर्ने भन्नेजस्ता विषयमा समेत उनले सक्रिय रूपमा काम गरिरहेका छन्।

त्यसो त डा.पदमले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता (मास्टर्स इन मिडिया टेक्नोलोजी) विषयमा स्नातकोत्तर तहको अध्ययनसमेत गरेका छन्। पोखरा विश्वविद्यालयमा ‘विकास अध्ययन (डेभलोपमेन्ट स्टडीज)’ विषयमा विद्यावारिधि गरिरहेका छन् उनी। नेपालको स्वास्थ्य सेवा तथा चिकित्साशास्त्र सम्बन्धी विषयमा थप अध्ययन गर्नु नै मूल उदेश्य रहेको उनले सुनाए। अहिले पनि उनी गृह जिल्लामा बेला–बेलामा पुगेर बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्छन्।

तीन पेशाको संवेदनशीलता बुझ्नुपर्ने
डा. पदम चिकित्सक माध्यममात्रै भएकाले उपचार गरेकामध्ये सबै बिरामी बच्छन् नै भन्ने एकिन नहुने विषय आम व्यक्तिले बुझिदिन अनुरोध गर्छन्। बिरामीको उपचारका क्रममा बिरामीको स्वास्थ्यमा कुनै समस्या निम्तिए त्यसको सत्यतथ्य अध्ययन गरी छानबिन गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने उनको सुझाव छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी पक्षलाई शंकाको दृष्टिले हेर्ने वातावरण बनाउन नहुनेमा पनि उनी सचेत छन्। बिरामी पक्षले पनि कुनै घटना भयो भन्दैमा समग्र चिकित्सकलाई संकाको दृष्टिले हेर्न नहुने उनको सुझाव छ।

‘चिकित्सकलाई उपचार गरेर बचाउन सके भगवान अनि बिरामी बाँचेनन् भने सैतान जस्तै व्यवहार गर्नु हुँदैन’, डा. पदमले भने।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी (सेना, प्रहरी लगायत) र पत्रकारिता पेशा निक्कै संवेदनशील र कडा परिश्रम गर्नुपर्ने चुनौतिपूर्ण पेशा भएकाले यी पेशाको संवेदनशीलता आम व्यक्तिले बुझिदिनुपर्ने डा. पदमको सुझाव छ।

विशेषगरी यी पेशाकर्मीको चाडपर्व मान्नसमेत नभ्याउने अवस्था हुने अनि समय व्यवस्थापन गर्न चुनौतिपूर्ण हुने उनलाई अनुभूति हुन्छ।

भदौ २३, २०८० शनिबार २०:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।