सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो।

शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

कर्फ्यूको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ।

भदौ २३, २०८० शनिबार १७:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।