भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा केही मान्छे विछिप्त भए : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा केही मान्छे विछिप्त भए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छे विछिप्त भएको बताएका छन्।

गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लिग(वाईसीएल)नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विछिप्त भएको बताएका हुन्।

‘म तपाईंहरूको मतबाट निर्वाचित भएर गएपछि धेरै उतार चढावसहित प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर प्राप्त भयो। यो चुनौती पनि छ, अवसर पनि छ। अहिले सरकारको तर्फबाट जनतालाई प्रत्यक्ष रूपले राहत दिने काम सुरु गरिएको छ,’ उनले भने, ‘सरकारको तर्फबाट सुशासनको पक्षमा, भ्रष्टचारका विरुद्ध ठूलो अभियान नै छेडिएको छ। यसले एकथरि मान्छेहरूलाई विछिप्त बनाएको छ भने जनतालाई यो हाम्रो सरकार, जनताको सरकार हो भन्ने बनाएको छ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको र त्यसैगरी काम गरिरहेको भन्दै मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको बताए।

त्यस्तै, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिविरुद्ध प्रहारको प्रयास भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्दै परिवर्तनका उपलब्धि बचाउनुपर्ने उनले बताए।

‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ। ठूलो त्याग, तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ’, उनले भने।

भदौ २३, २०८० शनिबार १५:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।