अरूलाई विदेश जान सिकाउने आफैँ किन जाँदैनन्?

अरूलाई विदेश जान सिकाउने आफैँ किन जाँदैनन्?

दयालु अथवा राम्रा शब्दहरू प्रयोगमा ल्याउनु भनेको अरूलाई खुसी बनाउने उत्तम माध्यम हो। मानिसको आचरणले नै कस्तो स्वभावको छ भनेर सजिलै आँकलन गर्न सकिन्छ।

मीठो बोली र सहनशीलता अनि कार्यप्रतिको पारदर्शिताले मानिसलाई थप उत्प्रेरणा दिन्छ। राम्रो शब्द र काम प्रति लगाम प्रयोग गर्नु राम्रो नीति हो।

कहिलेकाहिँ मानव जीवनमा आउने संकट र अवरोधले खिन्नता ल्याउँछ। सर्वश्रेष्ठ हुनाको भाव वा अवस्थाको दावा र निधो स्वयं नै गर्नसक्ने भएर होला, प्राणी जगतमा मानव जातिलाई सर्वश्रेष्ठ मानिन्छ। 

बोल्नेको पिठो नि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने बूढापाकाको कथन नै छ। त्यसैले त मानिस आफ्ना आन्तरिक क्षमतासँगै केही नवीन कार्य देखाउन सधैँ तत्पर हुन्छन्।

सम्पूर्ण शास्त्रको ज्ञान भएको ज्ञातालाई ‘पापको बाउको नाम के हो’ भन्दा अलमल्ल परेका थिए रे। मतलब कि अब मलाई नआउने भन्ने केही छैन भन्ने दम्भ उनमा थियो। तर बुवाको यो प्रश्नले छोराको वाक्य फुरेन। त्यसैले मानवीय आविष्कार र बदलिँदो प्रविधिले गर्दा ‘सम्पूर्ण ज्ञानको ज्ञाता हुँ’ भन्ने घमण्ड गर्नु व्यर्थ छ।

संसारमा पीडा र चिन्ता नभएको मान्छे बिरलै भेटिन्छ। मास्लोको सिद्धान्तअनुसार एउटा आवश्यकता पूरा भयो भने तत्काल अर्को उत्पन्न भइहाल्छ। जसमा मनोवैज्ञानिक आवश्यकतादेखि लिएर आत्म वास्तविकता गरि पाँच प्रकारमा श्रेणी मिलाएका छन्।

अरू प्राणीभन्दा तेज भएकाले मान्छेले बढी सोच्नु, काम गर्नु स्वाभाविक हो। दिनहुँ दौडधूप गरेर जीविकोपार्जन गर्ने पनि धेरै छन्। ऐस आराममा दिनचर्या बिताउने पनि धेरै छन्।

हालको समयमा ‘म विदेश जान्न’ भन्ने युवा सायद बिरलै भेटिन्छ, तलाई लान्छु भन्यो भने ३/४ कक्षा पढ्ने बालबालिकाबाट पनि म यतै बस्छु भन्ने उत्तर नआउला भन्न सक्किन्न। सीमित पूर्वाधार र जनशक्तिको वृद्धिले गर्दा बेरोजगारीको समस्या बढ्दै गएको छ।

सीप भएकाले पनि रोजगार पाउने अवस्था छैन। प्लस टु सकेपछि बागबजारका गल्ली नधाउने सायद कमै होलान्।

दुईचार दिनअघि, भदौरे घामको रापमा साथी र म पनि बागबजारमा एउटा कन्सल्टेन्सी खोज्न थाल्यौँ। चिनजानकै कारण सायद २/४ हजार सस्तो पर्थ्यो कि भनेर। डिल्लीबजार ओरालोदेखि खोज्दै स्टार मलसम्म पुग्यौँ। अलि भित्र भएकोले अलि समय लाग्यो।

हामीले खोजेको कन्सल्टेन्सी तीन तल्लामाथि रहेछ, पुग्यौँ अनि सोध्यौँ, ‘सर हुनुहुन्छ?’ अगाडि रहेको रिसेप्सनकीले भनिन्, ‘एकछिन वेट गर्नुस् है, सर क्लासमा हुनुहुन्छ, सकिने बेला भयो। निस्किने बित्तिकै हजुरहरूलाई म बोलाउँछु।’

साथी कन्सल्टेन्सीका बारेमा छापिएको किताब हेर्न थाल्यो। म एकछिन बाहिर निस्केँ। त्यही भवनमा ४ वटा कन्सल्टेन्सी थिए। म दङ्ग परेँ।

विद्यार्थीको संख्या पनि धेरै भएर होला, प्रायजसो बागबजार कन्सल्टेन्सीको एरिया भनेर पनि चिनिन्छ। नजिकै पार्किङको प्रबन्ध मिलाउने दाइ थिए। मैले प्रश्न गरे, ‘यत्तिका कन्सल्टेन्सी छन्, विद्यार्थी कतिको आउँछन् हो दाजु?’

उनले चुरोटको धुवा फ्वाँ पारेर उडाउँदै भने, ‘नआएको भए उहिल्यै कुम्लोकुटुरो बोकेर टाप कसिसक्थे, फाट्टफुट्ट आइराख्या देख्छु।’

मैले ए! भन्दै गर्दा साथीले सम्बन्धित मान्छे आएको भन्दै कल गर्यो र म माथि उक्लिएँ। काउन्सिलिङ गर्दै जाँदा आइएल्ट्स, टोफेल, स्याटको बारेमा कुरा भयो र वृत्तान्त जानकारी सकिएपछि, २/४ दिनपछि खबर गर्ने निधो भयो।

मेरो मनमा कौतूहलता जाग्यो, ‘हामीलाई यतिको अर्ती उपदेश दिने मान्छे किन आफैँ विदेशिदैन?’ साथी अलि पर थियो अनि मैले प्रश्न गरेँ, ‘सर तपाईं यत्तिको जानकार मान्छे, इंग्लिस पनि मातृभाषा जस्तै जिब्रो मै झुन्डिएको, तपाईंलाई चाहिँ विदेश जाउँ जस्तो लाग्दैन?’

मैले प्रश्न गर्ने बित्तिकै घुटुक्क पानी निल्दै, ‘मेरो यतिको कमाइ जस्तोसुकै मुलुकमा गए पनि हुँदैन’ भन्दै अर्को विभिन्न कन्सल्टेन्सीमा रहेको आफ्नो क्लासको तालिका बताए।

‘कमाइ नेपालमै पर्याप्त छ?’, मैले प्रश्न गरेँ।

‘हाम्रो जस्तो विकासोन्मुख मुलुकमा पैसा हावामा उडिरहेको छ, अब यसलाई कसरी सँगाल्ने भन्ने विषयमा थोरै ध्यान केन्द्रित गर्यो भने कतै जानुपर्दैन,’ उनले भने।

‘अनि हामीलाई किन काउन्सिलिङ गर्नु हुन्छ त?’, फेरि सोधेँ मैले।

‘गाईको गुण घाँस खाने अनि दूध दिन हो। त्यस्तै यो मैले पनि कमाई खाने एउटा माध्यम हो, जाने नजाने तपाईंमा भरपर्ने कुरा,’ यति भन्दै अर्को क्लासको समय सुरू भयो भनेर उनी फुत्त निस्किए।

यो सबैपछि मेरो अर्को काम थियो, वकिललाई भेट्ने। कागजात लानुपर्ने थियो। 

वकिललाई पनि एउटा प्रश्न सोधिहालेँ, ‘मानौं म पक्का दोषी ठहर हुन्छु, प्रमाण पुग्ने छैन भने तपाईं मेरो पक्षबाट केश लड्नुहुन्छ?’

मुसुक्क हाँस्दै उनले भने, ‘अब त्यो केश हेरेर हुन्छ, कत्तिको अड्काउन सकिन्छ भनेर। प्रायजसो केश प्रमाणका आधारमा लडिन्छ। हाम्रो पेशा के त? अदालतमा विचाराधीन मुद्दा लाने अनि प्रमाण बटुलेर लड्ने, सकभर जित्ने।’

‘त्यसोभए सबै प्रमाण नपुग्ने केश मात्रै आइलाग्यो भने, के पेशा नै परिवर्तन गर्नु?’, उनले थपे।

आखिर प्रमाण पुगोस् या नपुगोस्, कठघरामा पुगेपछि कि जित वा हार हुने एउटा निश्चित नै छ। त्यसैले आफ्नो इमान्दारितालाई नछोड्नु भन्ने तर्क उनको थियो।

यस्तै प्रसङ्गमा मैले क्याम्पसका शिक्षकलाई पनि प्रश्न गरेँ, ‘सर मानौँ एउटा विद्यार्थी अति कमजोर छ, उसलाई पास गराउन कुनै हालतमा पनि सकिँदैन। हजुरलाई ट्युसनको प्रस्ताव आयो भने के गर्नुहुन्छ?’

उनले भने, ‘आफूले सक्ने, क्षमताले भ्याउने मात्र गर्ने हो। आफूले कत्तिको बुझाउन सकिन्छ भन्नेमा नि भर पर्छ। मलाई त्यो प्रस्ताव आयो भने पहिले चार प्रकार शक्ति, कमजोरी, अवसर र खतरामा विभाजन गर्छु। अनि अभ्यास गर्छु। यदि यही उपलब्धि गराउन सकिएन भने शुल्क लिएर पढाएको कुनै औचित्य हुँदैन।’

‘कति विद्यार्थीमा काउन्सिलिङले नै धेरै परिवर्तन आएको देखिन्छ। यद्यपि सकिने रैछ भने गरिन्छ नत्र विना मेहनत अर्काको कमाइ खाइँदैन, मैले तपाईंको नानीबाबुलाई पास गराउन सक्दिन भन्छु,’ उनले थपे।

एक पटक विद्यार्थी संगठनको चुनावमा मैले हार्छु भन्ने पक्का छ भनेर भन्दै हिँडेका एक उमेदवारलाई सोधेको थिएँ, ‘तपाईंलाई म हार्छु भन्ने निश्चित नै लागेको छ भने किन उठ्नु? यो प्रतिस्पर्धाको खेलमा टक्कर भयो भने पो विजय या हारको मजा आउँछ?’

‘भोट ५० प्रतिशत गनिसक्दा पनि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई म जित्छु भन्ने मनसाय थिएन, सबैको आँकलनमा केशव स्थापित नै आउँछन् भन्ने थियो तर अन्तिममा नतिजा बालेनकै पक्षमा उर्लियो, न मेरो पनि त्यही हुन्छ कि हानेर नि भाइ,’ उनले भने।

लडाइँको मैदानमा उत्रिएपछि दुई चिज हुन्छ। कि जित कि हार। यद्यपि म हार्छु नै भन्ने लागे पनि भिडन्तको मैदानमा चिट्ठा नपर्ला भन्न सकिन्नँ।

हाम्रै छिमेकी भारत लगातारको मेहनत र परिश्रमपछि चन्द्रमामा पुग्ने विश्वको चौथो मुलुक बन्यो। चन्द्रमाका लागि भारतले पठाएको यान तेस्रो पटकमा मात्र सफल भएको हो। यसअघि चन्द्रयान-१ २००८ मा र चन्द्रयान-२ सन् २०१९ मा पठाइएको थियो।

विकसित मुलुकहरू यत्तिकै त्यो अवस्थामा पुगेको होइनन्। त्यहाँका जनताको लगाम, आत्मबल र जिम्मेवार नागरिकको हैसियतले गरेको योगदानका कारण हो।

उदाहरण हेर्ने हो भने, इजरायल सानो मुलुक छ। यसको क्षेत्रफल जम्मा २२ हजार ७० स्क्वायर किलोमिटर मात्र छ। देशको आधा भू-भागमा सधैँ द्वन्द्व छ। दुई प्रतिशत जनता मात्र कृषिमा आबद्ध छन् । यद्यपि दुई प्रतिशतले बाँकी ९८ प्रतिशतको खाद्यान्न धानेको छ।

यसबाट नेपालले कहिले सिक्ने?

२३ भदौ, २०८०, १३:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।