ठेक्का सम्झौता भएको २ वर्षपछि बल्ल थालियो जोमसोम-कागबेनी सडक निर्माण

ठेक्का सम्झौता भएको २ वर्षपछि बल्ल थालियो जोमसोम-कागबेनी सडक निर्माण

म्याग्दी : ठेक्का सम्झौता भएको दुई वर्षपछि बल्ल मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ। 

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुखका अनुसार धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि ठेकेदारले दुई सय जना मजदुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुरु गरेको हो।

राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीय स्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न वि. सं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो। 

१३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

१८ महिनाको ठेक्का अवधिको म्याद थियो। लागत अनुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो।

यसअघि थप भएको ६ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिंदैछ। यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ। 

भदौ २३, २०८० शनिबार १०:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।